कालचिनीः कालचिनी खण्डको डिमा सेतु संलग्न करम अखड़ामा दीर्घ लामो समयदेखि एउटा ओपन स्टेजको निर्माणको दाबी बल्ल पुरा हुने भएको छ। कालचिनी विधायक विशाल लामाको बाहुलीबाट मंगलबार उक्त करम अखड़ाको स्थानमा ओपन स्टेजको शिलान्यास सम्पन्न भएको छ। मंगलबार कालचिनी विधायक विशाल लामाको विशेष उपस्थितिमा एवम् डिमा करम अखड़ा कमिटीको प्रमुख तोफिल सोरेङ एवम् अन्यान्य सदस्यहरूको उपस्थितिमा पुरोहितको मन्त्रोच्चारण र विधिपूर्वक शिलान्यास पूजन सम्पन्न भएको करम अखड़ा कमिटीको प्रमुख तोफिल सोरेङले जनाएका छन्।
डिमा नदीको तटमा दीर्घ बर्षदेखि आदिवासी करम पूजाको विसर्जन चल्दै आईरहेको र यस उपलक्ष्यमा कालचिनी खण्डको विभिन्न चियाबारी गाउँ बस्तीहरूबाट करम श्रद्धालुहरू बिहान करम विसर्जन गर्न जमायत हुने गरेको र यस अवसरमा विभिन्न आदिवासी रंगारंग सांस्कृतिक कार्यक्रम सम्पन्न हुँदै आईरहेकोले करम अखड़ा कमिटीले उक्त स्थानमा ओपन स्टेजको दाबी गर्दै आईरहेको थियो। यसै मागलाई ध्यानमा राखेर विधायक कोष बीईयूपी फन्डबाट प्रायः १० लाखको लागतमा डिमा करम अखड़ामा एउटा ओपन स्टेजको शिलान्यास मंगलबार सम्पन्न भएको कालचिनी विधायक विशाल लामाले जनाएका छन्।
उक्त स्थानमा ओपन स्टेजको निर्माण कार्य अब चाँडै सम्पन्न हुने र यसले आदिवासी समुदायलाई करम पूजाको कार्यक्रम गर्न सुविधा हुने डिमा करम अखड़ा कमिटीको पक्षबाट तोफिल सोरेङले जनाएका छन्।