गान्तोक: दुनियाभरि चर्चित सिक्किमको पर्यटकीय गन्तव्य स्थल छाङ्गु लेकको परिसरमा रहेको पुरानो शिव मन्दिरको नवनिर्माणपछि आज, नाथाङ माछोङका विधायक डीटी लेप्चाको बाहुलीबाट उद्घाटन गरियो। पुरानो मन्दिरको ठाउँमा नयाँ भव्य मन्दिर अनि प्रतिमा स्थापित गरिएपछि यहाँ दैनिक रूपमा आउने हजारौं पर्यटकहरूको निम्ति आकर्षणको केन्द्र हुने भएको छ।
उद्घाटनपछि, पत्रकारहरूसित कुराकानी गर्दै, स्थानीय मानिसहरूको सहयोगमा यो मन्दिरको निर्माण कार्य सम्पन्न भएको क्षेत्र विधायक लेप्चाले बताए। उनले राज्यको प्रमुख पर्यटकीय स्थल भएको हुनाले यहाँ स्थानीय श्रद्धालुहरूका साथै पर्यटकहरूको निम्ति पनि यो एउटा महत्वपूर्ण पूर्वाधार बनिएको बताए। जयपुरबाट शिवको सुन्दर प्रतिमा ल्याइएको पनि जानकारी गराउँदै श्रद्धास्थलको नवनिर्माण गर्न सबैको जमर्कोप्रति उनले आभार प्रकट गरे। यो मन्दिर निर्माणमा सहयोग गर्ने सबैको सहयोगले असल कार्य सफल भएको अनि यो क्षेत्रमा यस्ता धेरै कार्यहरू गर्न लागिपर्ने उनले बताए।
नाथाङ ग्राम पञ्चायत एकाईको छाङ्गु वार्डमा यो मन्दिर पुन: निर्माणले स्थानीयहरूमा खुशीको लहर छाएको तथा यसले यहाँ दैनिक रूपमा आउने पर्यटकहरूको निम्ति एउटा राम्रो गन्तव्य स्थल विकास भएको पञ्चायत सदस्य रिञ्जिङ डोमाले बताइन्। उनले यो मन्दिर निर्माण भएपछि यहाँको आकर्षण बढेको, तर यहॉं वाहन र याक राख्ने ठाउँ नबनाइए अझ असल हुने बताइन्। उनले छाङ्गु पोखरी मुन्तिर रहेको लगभग ५० वटा दोकान अहिले ग्राहक नभएर थोरै मात्र चलिरहेको बताउँदै यदि वाहनहरू तल दोकान भएको ठाउँमा पार्किङ गरेको खण्डमा दोकानहरू पनि चल्ने आशा व्यक्त गरिन्।
छाङ्गु पोखरी परिसरमा शौचालयको व्यवस्था नहुँदा धेरै समस्या भइरहेको बेला पोखरी संरक्षण समितिको तत्परतामा मोबाइल शौचालय आज स्थापित गरिएको छ। यसले पोखरीमा फोहोर नहुने हुँदा राम्रो पहल भएको पञ्चायत सदस्याले मन्तव्य व्यक्त गरिन्। पुरुष महिलको निम्ति जम्मा १० कोठे मोबाइल शौचालय पोखरी परिसरमै रहनेछ भने अब शौचबाट हुने फोहोर पनि हट्नेछ।









