२०८औं भानु जयन्तीको पुनित अवसरमा चामलिङको शुभकामना

गान्तोक: एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले २०८औं भानु जयन्तीको पुनित अवसरमा सिक्किमेली जनगण तथा समस्त नेपाली भाषीहरूमा शुभकामना व्यक्त गरेका छन्। एसडीएफ पार्टीद्वारा आज जारी शुभकामना सन्देशमा एसडीएफ अध्यक्षले भनेका छन्, ‘नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औं जन्म जयन्तीको अवसरमा सम्पूर्ण सिक्किमेली जनगणलगायत नेपाली भाषा, साहित्य, कला, संस्कृतिसित आवद्ध भएर यसको उन्नयन र विकासका लागि निरन्तर जुट्नुहुने सम्पूर्ण नेपाली भाषी जनसमुदायलाई हार्दिक बधाई एवम् शुभकामना अर्पण गर्दछु।’
उनले भनेका छन्, ‘आदिकवि भानुभक्त आचार्यले तत्कालीन विकट परिस्थितिमा सम्पूर्ण लोकको कल्याणलाई ध्यानमा राखेर रामायणलाई नेपाली समाजमा परिचित गराउने महत् कार्य गरेका थिए। नेपाली समाजमा भानुभक्तको गहिरो प्रभाव रहेको छ। त्यसबेला शिक्षाको अभाव थियो, उनको रामायण पढ्नका लागि पनि मानिसहरूले शिक्षाको मार्ग समाए अनि नेपाली समाज शिक्षित हुँदै गयो।’
चामलिङले अझ भनेका छन्, ‘भानुभक्तको रामायणले सम्पूर्ण नेपाली समाजमा एकता, भाइचारा र बन्धुत्वको पाठ पढाएको छ। भाषिक, सांस्कृति अनि साहित्यिक जागरूकता ल्याउने काम गरेको छ। यिनै कारणहरूले गर्दा आज पनि हामी उनको योगदानको कदर गर्दै उनलाई नमन गर्दछौं। हामीले उनको जीवनकथा र संघर्षबाट प्रेरणा लिनुपर्छ, उनको रामायणबाट हामीले हाम्रो समाजको समुन्नति, व्यक्तिगत अनुशासन तथा पारिवारिक प्रेमबारे शिक्षा गर्न सक्छौं। आज दुईसय वर्ष पछि उनको रामायण अझ बढि सान्दर्भिक बन्न पुगेको छ। यसलाई हामीले विभिन्न कोणबाट अध्ययन गरेका खण्डमा उनको महत्व अझ बढेर जानेछ।’ उनले आफ्नो शुभकामना सन्देशमा राज्यका विभिन्न स्थानमा आयोजन भइरहेका भानुजयन्ती कार्यक्रमहरूको सफलताका लागि पनि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement