तीज पर्व हाम्रो परम्परा र समृद्धिशाली संस्कृतिको परिचायक होः पवन चामलिङ

pkc_965

गान्तोकः एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले हरितालिका तीज पर्वको पावन अवसरमा राज्यका सम्पूर्ण आमा-चेलीहरूमा हार्दिक मङ्गलमय शुभकामना एवम् बधाई अर्पण गरेका छन्। एसडीएफद्वारा जारी विज्ञप्तिमा चामलिङले भनेका छन्, तीज पर्व हाम्रो परम्परा र समृद्धिशाली संस्कृतिको परिचायक हो। तथापि हाम्रा चेलीहरूले लामो समयसम्म दुःख र कष्ट सहेर हाम्रो समाजको निर्माणमा महत्वपूर्ण योगदान दिएको कुरा हामीले भुल्नु हुँदैन। महिलाहरू समाजका पहिलो अभियन्ता र सर्जक हुन्। यसैले समाजको सार्थक विकासको निम्ति महिलाहरूको सहभागिता अनिवार्य छ। नारी जातिको उत्थान, विकास र कल्याण नभएसम्म मानव समाज विकसित बन्नसक्दैन।

एसडीएफ सरकारकालमा महिलाहरूलाई कानुनी सुरक्षा प्रदान गरी उनीहरूलाई हरेक क्षेत्रमा सशक्तिकरण गर्ने कार्य भएको उनले दाबी गरेका छन्। नारी जातिले पाएका अवसर र अधिकारलाई शक्तिमा परिणत गरेर प्रतिफलमूलक बनाउने अभियान एसडीएफको राजनीतिको एउटा अर्को आयाम रहेको उनले बताएका छन्। राज्यका सम्पूर्ण नारीको सम्मान गर्दै एसडीएफ सरकारले तीज पर्वलाई सरकारी बिदाका रूपमा पालन गर्ने घोषणा गरेको पनि उनले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement