गोलीटारमा पालन गरियो राज्यस्तरीय तीज पर्व

psg__391

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) नारी प्रकोष्ठको पहलमा आज सिङतामस्थित गोलीटारमा राज्यस्तरीयरूपमा तीज पर्व भव्यरूपमा पालन गरियो। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। राज्यस्तरी कार्यक्रममा राज्यका छवटै जिल्लालाई लिएर तीज पर्वमा आधारित नृत्य प्रतियोगिताको आयोजना गरिएको छ। आज छ वटा जिल्लाका नृत्य टोलीले नृत्य प्रस्तुत गरे। यस प्रतियोगितामा गेजिङ जिल्ला पहिलो बन्न सफल बन्यो भने दोस्रो पाकिम र तेस्रो गान्तोक जिल्ला बन्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले तीजलाई हिन्दू महिलाहरूले महान पर्वकोरूपमा पालन गर्दै आइरहेको बताए। प्राचीनकालदेखि नै तीजलाई महत्व दिएको हुनाले अहिले पनि यथावत रहेको छ भने यो पर्वले पति-पत्नी र परिवारबिचको सम्बन्धलाई प्रगाढ बनाउने उनले अवगत गराए। एसकेएम पार्टी सरकारमा आएपछि विभिन्न समुदायको पर्वलाई सामुदायिकरूपमा पालन गर्ने सरकारले प्रयास गरिरहेको र आजको कार्यक्रम एक उदाहरण रहेको मुख्यमन्त्रीले जानकारी गराए।

यसरी सबै समुदायको पर्वलाई एकसाथ पालन गर्नुनै परिवर्तन रहेको उनले बताए। पूर्व मुख्यमन्त्री चामलिङले धेरै वर्षसम्म सत्ता हाँके तापनि राज्यका सम्पूर्ण जातिलाई एकताको सुत्रमा नबाँधेर जाति जातिमा टुक्राएको आरोप लगाए। धेरै जनाले एसकेएम सरकारले खोइ के परिवर्तन गऱ्यो भन्दै प्रश्न गरिरहेका छन्, तर परिवर्तन भन्ने कुरा अनुभव गर्न सकिने र आँखाले देखेको मात्र परिवर्तन मान्न नसकिने बताए। वर्तमान सरकारले जातिय पर्वलाई खुल्लारूपमा अर्थात स्वतन्त्रतारूपमा पर्व पालन गर्ने वातावरण सृजना गरेको किटान गरे।

तीजलाई सिक्किमेको पर्व हो भन्ने अनुभव गराउनलाई यसरी राज्यस्तरीरूपमा पालन गरेको पनि उनले जानकारी गराए। हामी सिक्किमे एक भएर बस्यौ भने हामीलाई कसैले हेप्न र अतिक्रमण गर्न नसकिने बताए। तर हामीमाझ विभाजन भयो भने यसको फायदा बाहिरको मान्छेले लिने जानकारी गराए। हामी राजनीतिक फाइदाको निम्ति कसैमा विभाजन ल्याउने छैन, उनले भने। आज सबै जातिको निम्ति एसकेएम सरकार रहेको र कसैले पनि असुरक्षित महसुस नगर्ने उनले आग्रह गरे।

सिक्किम विधानसभामा गुरूङ र प्रधान जातिको प्रतिनिधि नभए तापनि सम्पूर्ण सरकार नै उनीहरूको प्रतिनिधि रहेको बताए। पहिलाको सरकारमा जात-जातमा लडाएर राजनीति गर्ने चलन थियो तर अहिले त्यो चलनलाई जराबाट नै उखालेर फ्याँकेको दावी गरे। आगामी २०२४ मा सिक्किम विधानसभामा सबैको प्रतिनिधि होस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले प्रसङ्ग फेर्दै नारीहरू समाजको मेरूदण्ड रहेको जनाए। अहिले हरेक क्षेत्रमा नारीहरू अघि रहेको बताए।

वर्तमान परिपेक्ष्यमा हरेक क्षेत्रमा नारीहरूले पुरूषवर्गलाई पछि छोड्दै अघि बढिरहेको उनले जानकारी गराए। मेडीकलमा सयमा ७० प्रतिशत नारीहरू उत्तीर्ण भएर डाक्टर पढने अवसर प्राप्त गरेको मुख्यमन्त्रीले जानकारी गराए। नारीहरू केवल आरक्षणमा मात्र निर्भर नरहेर नीति निर्धारण साथै सय प्रतिशतमा प्रतिष्पर्धा गर्नुपर्ने उनले सुझाउ दिए। अब पुलिसको नियुक्तिमा पचास प्रतिशत महिलाहरूको निम्ति सीट आरक्षण गर्ने घोषणा गरे। उनले अब ८५२ जना पुलिसको नियुक्ति गरिने, जसमा पचास प्रतिशत नारीहरूलाई अवसर दिइने बताए।

अब श्रवण कुमार पुरस्कारको निम्ति प्रत्येक ग्राम पञ्चायत युनिटबाट एक-एक जनालाई प्रदान गर्ने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे। यस पुरस्कार महिला र पुरूष दुवै वर्गलाई प्रदान गरिने पनि उनले स्पष्ट पारे। विशेष गरेर आमा-बाबालाई वृद्ध आश्रममा राख्ने प्रथालाई हटाउने उद्देश्यले यस प्रकारको योजना शुरू गरेको जानकारी गराए। हाल विपक्षी पार्टीहरूले वर्तमान सरकारले केवल घोषणा मात्र गरेको आरोपको उनले तीब्ररूपमा खण्डन गर्दै सरकारले बजेट राखेर मात्र घोषणा गर्दै आइरहेको उनले जानकारी गराए।पूर्व सरकारले केवल शिलान्यास मात्र गर्थ्यो तर धनराशि कहिले पनि नछुट्टाएकोले सबै पूर्वधारा लथालिङ्ग अवस्थामा रहेको किटान गरे। जबसम्म मलाई जनताले फ्याँक्दैन तबसम्म विपक्षी पार्टी जति कराए पनि केही हुनेवाला छैन्, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement