खरसाङ महाविद्यालयका प्रा. योगेश खातीलाई पीएचडी प्रदान

IMG-20230918-WA0260.jpg

खरसाङ: खरसाङ महाविद्यालयका एसोसिएट प्रोफेसर प्रा. योगेश खातीले धेरै वर्षको अथक परिश्रमपछि पीएचडी उपाधि प्राप्त गरेका छन्। उत्तर बङ्गाल विश्वविद्यालयका जोइन्ट रजिस्ट्रार डा स्वपन कुमार रक्षितद्वारा प्रेषित परिपत्र अनुसार कालेबुङ कफेर ग्राम पञ्चायतअन्तर्गत मुन्थुम निवासी प्रा. योगेश खातीलाई उत्तर बङ्ग विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) को उपाधि प्राप्त भएको छ। उनले आफ्नो शोधकार्य उत्तर बङ्ग विश्वविद्यालयका प्रोफेसर डा कृष्णराज घतानीको निर्देशनमा पूर्ण गरेका छन्। उनको शोध विषय “स्वातन्त्रोत्तर दार्जिलिङका नेपाली नाटकमा सामाजिक-राजनैतिक चेतनाको अध्ययन” रहेको छ। समाज र राजनीतिको अन्तरविषयक अध्ययनको यस शोधकार्यमा दार्जिलिङका प्रतिनिधि एघारजना नाटककारहरूका प्रकाशित नाटकहरूबारे अध्ययन-विश्लेषण गरिएको छ। डा. खाती खरसाङ महाविद्यालयमा विगत सत्र वर्षदेखि नेपाली भाषा साहित्य विभागमा अध्यापन गराईरहेका छन्। हाल उनी एसोसिएट प्रोफेसर (उप प्राध्यापक) का रूपमा छन्। यस अघि उनी सन् २००३ देखि सन् २००६ सम्म दार्जिलिङको एउटा प्रतिष्ठित स्कूल सेन्ट पल्स स्कूलमा भाषा शिक्षकका रूपमा कार्यरत थिए। प्रा. खातीले प्रारम्भिक शिक्षा गाउँकै कृष्ण दिवस प्राथमिक पाठशालाबाट शुरु गरेका थिए। त्यसरी नै उनले पेदोङस्थित सेन्ट जर्ज स्कूलमा बाह्रौं कक्षासम्म पढेर दार्जिलिङको सन्त जोसेफ कलेज, नर्थ पोइन्टबाट आफ्नो अनर्स समाप्त गरेका हुन्। त्यसपछि उनले उत्तर बङ्ग विश्वविद्यालयबाट सन् २००१ सालमा एमए अनि २००२ मा युजीसी नेट जेआरएफ उत्तीर्ण गरेका थिए। नेपाली साहित्यमा एकजना समालोचक व्यक्तित्वका रूपमा परिचित प्रा. खातीले विविध राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका सेमिनार अनि साहित्यिक-शैक्षिक मञ्चहरूमा आफ्ना धेरै कार्य पत्रहरू नेपाली अनि अङ्ग्रेजी भाषामा प्रस्तुत गरिसकेका छन् भने उतिकै कार्यपत्रहरू प्रकाशन पनि गरिसकेका छन्। उनले सन् २०२० मा नयाँ दिल्ली साहित्य अकादेमीबाट ‘भारतीय नेपाली साहित्यका निर्माता: तुलसी बहादुर छेत्री ‘अपतन’ माथि पहिलो पुस्तक प्रकाशित गरेका छन्। उनको अर्को समालोचना पुस्तक ‘अध्ययन आवर्तन’ सन् २०२२-२३ मा उपमा प्रकाशन, कालेबुङबाट प्रकाशित भएको छ। शैक्षिक अनि साहित्यिक क्षेत्रबाहेक उनले सङ्गीतमा पनि विशेष रुचि राख्दै अहिलेसम्म विविध विषयमा आधारित पाँचवटा एल्बममा अनि झण्डै एक दर्जनभन्दा बेसी विविध विषयमा आधारित एकल गीतहरूमा सङ्गीत गरिसकेका छन्। एउटा दह्रिलो शैक्षिक पारिवारिक पृष्ठभूमिबाट आएका डा. खाती सानैदेखि पढाईमा मेधावी थिए। उनी स्व. बलराम खाती र स्व. फिलोमिना मोलोमूका माइलो सुपुत्र हुन्। उनको यस उपलब्धि समस्त परिवारलगायत खरसाङ महाविद्यालय अनि उनका क्षेत्रवासीका निम्ति खुशीको विषय बनेको छ। समकालीन भारतीय नेपाली साहित्यिक र शैक्षिक क्षेत्रका युवा जमातमा सहयात्री रहेका डा. योगेश खाती एकजना चिन्तनशील व्यक्ति हुन्। उनको यस सफलतामा सबै क्षेत्रबाट लगातार बधाई प्राप्त भइरहेको कुरा जान्नमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement