खरसाङ विश्वकर्मा समाजको ९८औं स्थापना दिवस अनि नयाँ कार्यकारी समिति गठन

IMG-20230918-WA0243.jpg

खरसाङ: सन् १९२५-मा स्थापित विश्वकर्मा समाजको ९८औं स्थापना दिवस निर्मल गहतराजको अध्यक्षता अनि मिलन रूचाल, आयुक्त, आयकर विभाग, भारत सरकारको प्रमुख आतिथ्यमा खरसाङको स्थानीय राजराजेश्वरी भवनमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिहरूमा के बी कालिकोटे, सिलगढ़ी, देशराज गजमेर, गोविन्द सिंह घतानी लगायत प्रकाश सेवा,अध्यक्ष, श्री दमाई समाज, खरसाङ अनि अर्जुन मङ्ग्राती, उपाध्यक्ष, सार्की समाज, खरसाङ उपस्थित थिए। विनोद रसाइली अनि सुष्मा सिंह दर्नालद्वारा सञ्चालित यस कार्यक्रममा सर्वप्रथम अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको करकमलबाट भगवान श्री विश्वकर्मा बाबाको प्रतिकृति अघि धूपदीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भयो।

अक्टुबर २०१९-देखि यता दिवङ्गत भएका जम्मा ३० जना सदस्यहरूका नाम स्मरण गरी श्रद्धाञ्जलीस्वरूप एक मिनट मौनधारण गरियो। त्यसपछि विनोद रसाइलीद्वारा रचित तथा निर्मल गहतराजद्वारा सङ्गीतबद्ध समाजको सामूहिक गीत प्रस्तुत गरेर समाजका सदस्यहरूले आमन्त्रित अतिथिहरूलाई स्वागत जनाए। समाजका मूल सचिव केशवसिंह घतानीले आफ्नो स्वागत वक्तव्यमा विगत 4 वर्षको समाजको गतिविधिसँगै समाजले पुर्‍याएका योगदान र सेवाबारे प्रकाश पारे। कार्यक्रममा समाजका वयोवृद्ध सदस्यहरू क्रमैले उग्रसिंह शङ्कर उमेर ९५, गङ्गादेवी गजमेर, उमेर ८५ अनि नरबहादुर रसाइली, उमेर ८४-लाई अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको करकमलबाट टोपी, अङ्गवस्त्र तथा अभिनन्दन पत्रद्वारा सम्मानित गरियो। यस बाहेक समाज भवनका जमीनदाता स्वर्गीय सन्तोष सिंह लकान्द्रीका सुपुत्र सञ्जय सिंहलाई सक्रिय सदस्यता सम्मानले अलङ्कृत गरियो भने उनकी पत्नी माया सेञ्चुरीलाई पनि समाजको पक्षबाट स्मृति चिन्ह र उपहार प्रदान गरी कृतज्ञता व्यक्त गरियो।

यसै कार्यक्रम मार्फत समाजका प्रतिभाशाली विद्यार्थीहरू डाक्टर उज्याला सिंह, एमबीबीएस, डाक्टर आकाङ्क्षा लोहार, बीडीएसलाई सम्वर्द्धना जनाइयो भने विद्यावारिधि गरिरहेका विद्यार्थीहरू क्रमैले खुशबू गहतराज अनि रोहिणी सिंहलाई पनि स्मृति चिन्ह भेट गरी शुभेच्छा व्यक्त गरियो। कार्यक्रममा अर्को आकर्षण थियो सांस्कृतिक कार्यक्रम जसमा समाजका कलाकारहरू बालकुमार सुनार, महिपाल खाती, रेबिका रसाइली, प्रवीणसिंह सिङ्गौरे, सुवासना खाती, आरती विश्वकर्मा, पल्लवी बराइली, रमेश बराइली सञ्जयसिंह लकान्द्री, हदेविका बराइली अनि प्रमोद शङ्करले आफ्नो सुमधुर स्वरले मन्त्रमुग्ध बनाए भने बाल कलाकारहरू रिचा लोहागुन, भैरवी सिंह, स्नेह खाती, आहना खाती, गरिमा दर्नाल, मिनिक्षा सिंहले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरेर दर्शकहरूलाई भरपूर मनोरञ्जन गराए। यस अतिरिक्त कार्यक्रममा गत ९ सितम्बरको दिन आयोजित साधारण सभामा चयनित तथा नवगठित कार्यकारी समितिका सदस्यहरूका नाम उद्घोषणा गरी स्वागत जनाइयो। समाजका नयाँ सञ्चालन समितिमा अध्यक्ष निर्मल गहतराज, मूल सचिव, उपाध्यक्षद्वय इन्द्र सिङ्गौरे अनि सविता गजमेर, सह सचिवद्वय सुष्मा सिंह दर्नाल अनि अञ्जनसिंह घतानी, कोषाध्यक्ष रोशनी रसाइली, सह कोषाध्यक्ष कमलसिंह श्रीवाल, प्रचार प्रसार सचिवद्वय विनोद रसाइली अनि हेमन्तकुमार दर्नाल लगायत २१ सदस्यीय कार्यकारी समितिमा थप ५ जना विशेष प्रतिनिधि रहेको तथ्य चुनाव अधिकारी के. पी. दर्नालले जनाए भने सल्लाहकारवर्गमा आफू लगायत डी के बराइली, गोविन्द सिंह घतानी अनि कमल गजमेर रहेको कुरो सभामा स्पष्ट पारे। प्रमुख अतिथिले आफ्नो सम्बोधनमा सामाजिक जिम्मेवारी, नैतिक ज्ञान र आध्यात्मिक सचेतना कुराहरू खुबै सुन्दर ढङ्गमा पेश गरे। समाजलाई उन्नत बनाउन शिक्षा नै सबैभन्दा ठूलो हतियार हो भनी उनले कार्यक्रममा सम्वर्द्धित विद्यार्थीहरूलाई बधाई टक्राए।

अन्त्यमा आफ्नो अध्यक्षीय सम्बोधनमा निर्मल गहतराजले समाजले सय वर्षको ऐतिहासिक खुड्किलो पार गरेको सुखद उपलक्षमा आउँदो २०२५- मा शतवाषिर्की कार्यक्रम धुमधामसँग मनाउने घोषणा गर्दै यसको तयारीको निम्ति सबै सदस्यहरूलाई अघि आउने आह्वान गरे। यसबाहेक उनले आजको कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्बन्धित सबै पक्षलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरे भनी प्रचार प्रसार सचिव विनोद रसाइलीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement