सोनादा: दार्जिलिङको चौरास्तामा सम्पन्न शपथ ग्रहण समारोहमा सभासदको रूपमा सोनादा क्षेत्रका दुईजना नव निर्वाचित सभासदहरूले पनि मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा शपथ ग्रहण गरेका छन्। यसमा सोनादा पचेङ समष्टीको सभासद अनोस थापा अनि रंगमुक धोतरिया रंगबुल समष्टीको नव निर्वाचित सभासद राजेस चौहानले पनि अन्य सभासदहरूसितै शपथ ग्रहण गरेका छन्। सोनादा पचेङ समष्टीबाट अनोस थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट जीटीए चुनावमा भाग लिएर बिजय बनेका थिए भने रंगमुक धोतरिया रंगबुल समष्टीबाट राजेस चौहानले निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़ेर जीत हाँसिल गरी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका थिए। दुवैले सभासदको रूपमा आधिकारिक रुपमा शपथ ग्रहण गरेपछि जनताको इच्छा र आकांक्षा अनुसार कार्य गर्ने बताएका छन्। दुवै सभासदद्वारा अब जनताको लागि कार्य गर्ने वचनबध्दता जाहेर गर्दै जनताको सेवकको आफ्नो आफ्नो समष्टीमा कार्य गर्ने पनि वचन दिएका छन्।