गान्चोक: वरिष्ठ कथाकार युवा बराल केरलामा सम्मानित भएका छन्। केरलाको कालिकटमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा कथाकार बरालले भारतीय नेपाली भाषाको प्रतिनिधित्व गरेका थिए। यसबीच हिन्दी भाषा दिवस २०२३ को अवसरमा बराल प्रमुख अतिथिका रुपमा उपस्थित थिए। आफ्नी श्रीमती ममता बरालसँगै उपस्थित भएको कार्यक्रममा उऩलाई भाषा समन्वय वेदीको वार्षिक कार्यक्रममा भाषा सेवा सम्मान अर्पण गरियो। कथाकार बरालको दुई कथा मलयालम भाषामा अनुवाद ऊइसकेको छ। भाषा र साहित्यको अनवरत योगदानको फलस्वरूप उक्त सम्मान अर्पण गरिएको हो। यसअवसरमा उनले केरलाका सबै हिन्दी लेखकहरूसंग पनि अन्तरक्रिया गरेका थिए। उनले हिन्दी र मलयालम दुवै भाषामा काम गर्ने केरलाका प्रख्यात लेखकहरूसँग भारतीय नेपाली साहित्यको वर्तमान परिदृश्यको बारेमा आफ्ना विचारहरू साझा गरेका थिए। केरलामा थोरै नेपाली सर्जकहरु यसरी सम्मानित भएका छन्। पहिलोपल्ट दक्षिण भारतको केरलामा यसरी थोरै लेखकहरुमध्ये आफू पनि हिस्सा बन्न पाउँदा निकै ठूलो अनुभव रहेको बताए। यस्तै गरि बरालले कालीकटको कला तथा विज्ञान कलेजको हिन्दी विभागद्वारा आयोजित व्याख्यानमाला कार्यक्रममा प्रमुख अतिथिको रूपमा भाग लिएका थिए। कार्यक्रममा विभागका महानिर्देशक डा शामली, डा भरगवान, डा आरसु र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। यस अवसरमा उनले क्षेत्रीय भाषाको प्रगतिमा हिन्दी भाषाको भूमिकाबारे प्रकास पारेका थिए। चार दिवसीय कार्यक्रमअवधिमा बरालले आधा दर्जन कार्यक्रममा सहभागिता दिए। जहाँ उनले सिक्किमको प्राकृतिक सौन्दर्य, जैवविवितता र पर्यावरणमाथि विचार राखेका थिए। तीमध्ये धेरैले सिक्किम भ्रमण गर्न उत्सुक्ता देखाएको जानकारी गराएका छन्। कार्यक्रमअवधिमा कतिपय मानिसहरु सिक्किमको बारेमा अझै अन्योलमा रहेको र आफूले सिक्किम भारतको 22 औं राज्य रहेको र पूर्वोत्तरको विकसित राज्यको रुपमा परिचित रहेको उल्लेख गराएको जानकारी बरालले दिए। यसक्रममा उनले केरलास्थित ग्लोबल पीस ट्रस्ट अफ इन्डियाका सचिव श्रीधरन अनि सदस्यहरूसँग पनि भेट् गरेका थिए। साहित्यिक कार्यक्रमको क्रममा उनले कालिकटमा विश्वविद्यालयका हिन्दी विभागका स्नाकोत्तर र शोधार्थीहरूसँग अन्तरक्रिया पनि गरेका थिए। अर्को एउटा माध्यमिक विद्यालयका विद्यार्थीहरुसंग मैत्री भेटघाट, दुइवटा महाविद्यालयका विद्यार्थीहरूसँग अन्तर्क्रिया, एउटा रेडियो कार्यक्रम, एउटा साहित्यिक अन्तर्वार्तामा पनि सामेल भएका थिए। भाषा नबुझे पनि हिन्दी भाषाको माध्यमबाट देशको सुदुर उत्तरपूर्वको नेपाली भाषा र सुदुर दक्षिण पश्चिमको मलयालम भाषामाझ एउटा, सेतु जोड्ने काम भएको उल्लेख उनले गरेका छन्। कार्यक्रममा साहित्यका गहन विषयमा चर्चा परिचर्चा भएको थियो। विशेष बरालका ग्रामीण कथाहरुले बोकेका ग्रामीण जनजीवनको कथा र वर्तमान वास्तविकतालाई केरलाका साहित्यकारहरुले सापेक्षित कथाका रुपमा ग्रहण गरेका थिए।