गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको जन्मदिनमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले आइतवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा प्रधानमन्त्रीलाई सिक्किमका मानिसहरूको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘तपाईको नेतृत्वले हाम्रो राष्ट्रको भविष्यलाई आकार दिनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हाम्रो देशको भलाईका लागि तपाईको समर्पण वास्तवमा सराहनीय छ।’
मुख्यमन्त्रीले अघि भनेका छन्, ‘यो विशेष दिनले भारतलाई उज्जवल अनि अझ समृद्ध भविष्यतिर मार्गदर्शन गर्न तपाईको निम्ति सुस्वास्थ्य, खुशी र शक्ति लिएर आओस्। तपाईको दूरदर्शिता र अथक प्रयासहरूले हाम्रो देशमा एक अमेट छाप छोडेको छ र हामी तपाईलाई आफ्नो नेताको रूपमा पाएर कृतज्ञ छौ।’
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘हाम्रो महान राष्ट्रका जनता तपाईलाई नेतृत्वमा पाएकोमा गर्व गर्दछन्, र हामी तपाईको गतिशील नेतृत्वमा निरन्तर वृद्धि र विकासको अपेक्षा गर्दछौं।’ उनले प्रधानमन्त्रीको अझ धेरै उपलब्धिहरूको कामना पनि गरेका छन्।