१७ सेप्टेम्बरः इटालियन सेरि ए फूटबलमा सीजनको पहिलो मिलान डर्बी-मा इण्टरले एकतर्फी जीत हासिल गऱ्यो। यसबीच गत सीजनको च्याम्पियन नापोली चाहिँ जसोतसो हार्नदेखि बाँच्यो। शनिवार राति खेलिएको डर्बी म्याचमा इण्टर मिलानले एसी मिलानलाई ५-१-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ४० प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मिलानबाट हेनरिख एमखितारयानले पाँचौं र ६९औं मिनटमा २ गोल गरे। यसबाहेक मार्कस थुरम, हाकान काल्हानोग्लु र डाविडे फ्राट्टेसीले १-१ गोल गरे। एसी मिलानबाट एकमात्र गोल राफाएल लिएओले ५७औं मिनटमा गरे।

यस जीतको साथ इण्टर ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ सेरि ए टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी तेस्रो स्थानमा रहने एसी मिलानसँग ९ पोइण्ट्स रहेको छ। यसरी नै युभेण्टसले लाजियोलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट डुसान भ्लाहोविचले १०औं र ६७औं मिनटमा २ गोल गरे। यसबाहेक फेडेरिको चिएसाले २६औं मिनटमा १ गोल गरे। लाजियोबाट लुइस अल्बर्टोले ६४औं मिनटमा गोल गरे।

यसबीच नापोलीले चाहिँ जेनोआ विरुद्ध हार्न लागेको म्याच जसोतसो २-२-ले ड्र गऱ्यो। मातिआ बानीले ४०औं र मातेओ रेतेगुईले ५६औं मिनटमा दिलाएको गोलले जेनोआ निक्कै समयसम्म २ गोलले अघि रहेको थियो। अन्तमा गिआकोमो रासपेडोरीले ७६औं र मातेओ पोलितानोले ८४औं मिनटमा गोल गरी नापोलीलाई हार्नदेखि बचाए। नापोली अहिले ७ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ।