खरसाङ: खरसाङको तीनधारे क्षेत्रमा विश्वकर्म पूजा आज सम्पन्न भएको छ। यसपाली विश्वकर्म पूजा दुई दिन भएकोले धेरैलाई असमञ्ज देखियो। तीनधारे क्षेत्रमा रहेको विभिन्न स्थानहरूमा विश्वकर्म पूजा आज नै सम्पन्न गरिएको छ भने भोलि १८ सेप्टेम्बरको दिन पनि पालन गरिने देखिएको छ। यसै विश्वकर्म पूजा तीनधारे पुलिस आउट पोष्टमा पनि अायोजना गरिएको छ। यस अवसरमा तीनधारे पुलिस आउट पोष्टका प्रभारी बीरेन्द्र छेत्रीको अगुवाईमा पूजा अर्चना गरिएको छ भने यस अवसरमा पुलिस आउट पोष्ट परिसरमा बाबा विश्वकर्मको मूर्ति पनि स्थापित गरिएको छ। यसपाली विश्वकर्म पूजा दुई दिन भएकोले पहिलो दिन सबैले बिहानदेखि आफ्ना आफ्ना गाड़ीहरू धुएर पूजा अर्चना गरेको देखियो। सबैले गाड़ी लगायत फलामका चीजबीजमा विश्वकर्म पूजा गरेको देखियो। तीनधारे क्षेत्रमा वर्षेनी यहाँको दार्जिलिङ हिमालयन रेलवेको कारखानामा भव्य रूपमा विश्वकर्म पूजा आयोजना गर्ने गरिन्थ्यो अनि दशैंको अघिको माहोल यहाँ हुने गर्दथ्यो। तर यसपाली दुई दिन पूजा हुने भएकोले यसपाली दोस्रो दिन यहाँ पूजा हुने जानकारी प्राप्त भएको छ। तीनधारे क्षेत्रमा कसैले पहिलो दिन नै पूजा गरेका छन् भने कसैले दोस्रो दिन पूजा गर्ने भएको छ।