१७ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा शनिवार एउटा प्री क्वार्टर फाइनल म्याच खेलियो। चरम रोमाञ्चक म्याचमा सेण्ट माइकल्स हाई स्कूलले बार्न्सबर्ग हाई स्कूललाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सेण्ट माइकल्स हाई स्कूलबाट अभोज्ञान राई र बार्न्सबर्ग हाई स्कूलबाट सिद्धान्त गुरुङले गोल गरे।

विजेता टीमका गोलकीपर संस्कृत छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा सोनादा हाई स्कूल र शारदा हाई स्कूलले चाहिँ अगावै क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।