नयाँ दिल्ली: शाहरुख खानको फिल्म ‘जवान’ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। फिल्मले रिलिजको ९औं दिनमा पनि राम्रो कलेक्सन गरेको थियो। भारतमा पछिल्लो ९ दिनमा जवानले ४ सय करोड भारु कमाई गरेको छ। एट्लीले निर्देशन गरेको यो फिल्मले ठूलो पर्दामा आफ्नो पकड बलियो बनाएको छ। रिपोर्टका अनुसार फिल्मले शुक्रबार २१ करोड कमाएको छ। विश्वव्यापी कलेक्सनको बारेमा कुरा गर्दा यसको ग्रस कलेक्सन करिब ७३२ करोड रुपियाँ रहेको बताइएको छ। यसपटक पनि सप्ताहन्तमा ७५० करोड पार गर्ने अनुमान गरिएको छ। गत हप्ताको कमाईको कुरा गर्दा फिल्मले पहिलो दिन ७५ करोड, दोस्रो दिन ५३.२३ करोड, तेस्रो दिन ७७.८३ करोड, चौथो दिन ८०.१ करोड, पाँचौं दिन ३२.९२ करोड कमाएको थियो। छैटौं दिन २६ करोड, सातौं दिन २३.२ करोड र आठौं दिन २१.६ करोडको व्यापार गरेको छ। हप्ताको कलेक्सन ३८९.८८ करोड पुगेको छ, जसमध्ये फिल्मले हिन्दीमा ३४७.९८ करोड, तमिलमा २३.८६ करोड र तेलुगुमा १८.०४ करोड कमाएको छ। यसअघि शाहरुख खानको रिलिज फिल्म ‘पठान’ ले विश्वभर १०५५ करोडको कलेक्सन गरेको थियो। शाहरुख खानकी श्रीमती गौरीले आफ्नो प्रोडक्सन हाउस रेड चिलीज मार्फत जवानलाई निर्माण गरेकी हुन्। यस अनुसार जवानले रिलिजको पहिलो हप्तामा विश्वभर ६९६ करोडको व्यापार गरेको छ।