गोरूबथान: नवनिर्वाचित पंचायत समिति चेयरमेन सूर्यमणि राईको पहलमा शनिवार गोरूबथानका बौद्धिक जमातलाई लिएर एक सुझाव सभा सम्पन्न भयो। अवकाश प्राप्त शिक्षक तथा साहित्यकार गोविन्द परियारको अध्यक्षतामा सम्पन्न सभामा गोरूबथान खण्ड पंचायत समितिका नवनिर्वाचित चेयरमेन सूर्यमणि राईले सभा गरिनुको औचित्यमाथि प्रकाश पार्दै २३ वर्षपछि पहाडमा आएको पंचायती व्यवस्थालाई सुचारू ढंगमा अघि बढाउन गोरूबथानका बौद्धिक जमातको आफुलाई तक्निकी पक्षसितै अनुभव, सुझाव तथा सहयोगको खाँचो महसूस गरेको बताए। आफु निर्वाचित हुनमा जीटीए प्रमुख अनित थापा, विधायक रुदेन सादा लेप्चा, क्षेत्रीय कार्यकारी सभासद् रतन थापासितै गोरूबथानका बौद्धिक जमात अनि साधारण जनताको ठूलो सहयोग रहेको बताउँदै एक जिम्मेवारीपूर्ण पदमा आसिन गराएकोमा सबैप्रति पुन: तिनले आभार प्रकट गरे। यसरी जिम्मेवारी पदमा आसिन गराएर आफूमाथि जुन अभिभारा सुम्पिएको छ त्यसलाई लक्ष्यसम्म पुराउन गोरूबथानका बौद्धिक जमातको मार्गनिर्देशन आफुलाई खाँचो परेको बताए। यही ध्येय राखेर आज सभा बोलाइएको तिनले जानकारी गराए।
विभागीय कार्यहरू गर्दा कतिपय तक्निकी कठिनाइसित जुझ्नुपर्ने स्थिति सिर्जना हुनसक्ने सम्भावनालाई मनस्थितिमा राखेर आजको सुझाव सभा राखिएको तिनले थप जानकारी गराउँदै आगामी दिनमा आवश्यकता परेको खण्डमा पुनः यस्ता समिक्षा सभाहरू आयोजन गरिने बताए। यसै क्रममा तिनले गोरूबथानको शिक्षा, पर्यटन, चियाबारी, वनबस्ती, बजार आदि ठाउँको समस्यालाई चरणबद्ध रुपमा समाधान गर्दै लानुपर्ने विषयमाथि पनि जोड दिए।
शिक्षक असिम राईले संचालन गरेको सभालाई सम्बोधन गर्दै ४३ नम्बर समष्टि कार्यकारी सभासद् रतन थापाले गोरूबथानको सर्वाङ्गिण विकासको निम्ति आफ्नो पक्षबाट १०० प्रतिशत सहयोग गर्न आफू तयार रहेको बताए। शुरुमा नयाँ काम गर्दा केही समस्या, कठिनाइ आइपरे पनि बिस्तारै ती सबै समाधान हुँदै जाने आफ्नो अनुभव साझा गरे। अहिले विभागीय रुपमा आवन्टन गरिएको राशि सोझै जनताको कल्याणको निम्ति खर्च गर्न सुझाव राख्दै कार्यालय एक ठाउँ निश्चित भएपछि मात्र त्यसको मरम्मत, सुन्दरीकरणमा सरकारी राशि खर्च गर्न अनुरोध गरे। कार्यकारी सभासद् थापाले सुझावकै क्रममा नबुझेका, असुविधा भएका विषयहरू बीडीओ, जोइन बीडीओलगायत गाउँ घरमा रहेका विभिन्न विभागीय विशेषज्ञहरूसित छलफल गरे राम्रो हुने बताए। यस्ता समिक्षा सभा आवश्यक रहेको बताउँदै तिनले कतिपय विषयहरू पंचायत समितिका सदस्यहरूबीच सल्लाह गरेर कार्य निस्पादन गर्नुपर्ने पनि जनाए।
त्यसरी नै स्पोर्ट्स अथॉरिटी ऑफ़ इंडिया, लेबोङ, दार्जिलिङका पूर्वसहनिदेशक केशव प्रधानले गोरूबथानलाई खेलकुदसितै सबै क्षेत्रमा अघि बडाएर लैजान एक साझा मंच तयार गर्नुपर्ने सुझाव राख्दै भविष्यमा खेलकुदको निम्ति आफ्नो पक्षबाट हुने सबै सहयोग पुराउने प्रतिश्रुति दिए। पंचायतका अवकाश प्राप्त ईए कमल राणाले पंचायतमा काम गर्दा बटुलेका अनुभवहरू साझा गरे। पहाडको पंचायत २३ वर्षसम्म नोकरशाहहरूले चलाएकोले यहाँका मानिसहरुले भनेजस्तो सरकारी सहुलियत उपभोग गर्न नसकेको तितो सत्यबारे प्रकाश पारे। यसको निम्ति तिनले एउटा उदाहरण दिँदै ग्राम पंचायतमा बृद्धा भत्ताको कोटा नबडाएको कारण अर्कोलाई भत्ता दिलाउन भत्ता पाउने मान्छे कहिले मर्छ भनेर पर्खिरहनुपर्ने दुखद अवस्था रहेको बताए। तसर्थ, नयाँ पंचायत, समितिले यो विषय जिल्लामा उठान गरेर खोजी निकाल्नुपर्ने सुझाव राखे। त्यस्तै पंचायतमा एपीएल, बीपीएलमाथि पनि धेरै तक्निकी समस्या रहेको जानकारी गराउँदै यस विषयलाई नवनिर्वाचित समिति चेयरमेन, पंचायत प्रधानहरूले गम्भीरतापूर्वक विचार गरेर काम गर्नुपर्ने बताए। सुझावकै क्रममा सामाजिक कार्यकर्ता मेधनाथ राईले गोरूबथानमा शिक्षासितै टुरिजमलाई लिएर पनि विशेष ध्यान दिनपर्ने सुझाव राखे। टुरिजमसित आर्थिक, रोजगार जोडिएकोले यसलाई ढंगले गर्न सकिए स्थानीय मानिसहरूको आर्थिक विकासको निम्ति धेरै सहयोग मिल्ने बताए।
दिवसीय अध्यक्षको आसनबाट बोल्दै अवकाश प्राप्त शिक्षक तथा पूर्व प्रधान गोविन्द परियारले आफ्नो कार्यकालमा प्रधान हुँदा गरेका, भोगेका कुराहरू बताए। गाउँको विकास गाउँलेले नै गर्नुपर्छ भन्ने राष्ट्रिय पिता महात्मा गान्धीको सपना पंचायती व्यवस्था रहेको बताउँदै तिनले समिति चेयरमेन, पंचायत प्रधानहरूले आफ्नो अधिकार र क्षमता राम्रोसित बुझेको हुनुपर्ने सुझाए। आफ्नो कार्यकालमा बीडीओ आफ्नो कार्यालयको कक्षामा पस्नअघि आफुलाई अनुमति माग्ने गरेको स्मरण गराउँदै नवनिर्वाचित समिति चेयरमेन, पंचायत प्रधानहरूले आफ्नो पावरलाई सठीक रुपमा प्रयोग गर्नुपर्ने बताए।
आजको सभामा नवनिर्वाचित पंचायत प्रधान निमा तामाङ, अवकाश प्राप्त ईए भक्तमणि राई, युद्धवीर उमाविका सहप्रधानाध्यापक विशाल परियार, विजय ब्लोन, समिर राई शान्ति, काशिराम प्रधान, निशानदास राई, सौराज राई, डीबी सार्की, ओमप्रकाश कार्की, सुरज प्रधान, योगेश राई बाछाना, देवप्रकाश राई, विनोद राई, एससी ओझा, भरत छेत्री, सुकदल सुब्बा आदिको विशेष उपस्थिति रहेको थियो। प्रकाश शर्माले स्वागत सम्बोधन गरेको सभामा बबरु बहन राणाले धन्यवाद दिएका थिए। सभामा सबै तप्काका विशेष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।