सोनादा: सोनादाको चौकी डाँडामा अवस्थित शेर्पा गुम्बाको भवनमा ग्लोबल शेर्पा एसोसिएशनको तत्वधानमा सभा सम्पन्न भएको छ। उक्त सभामा दार्जिलिङ, खरसाङ, कालेबुङ, जयगाउँ साथै सिक्किम शेर्पा समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त सभामा आगामी ८ अक्टोबरको दिन काठमाण्डौंमा हुने ग्लोबल शेर्पा एसोसिएशनको सभामा भारतको पक्षबाट कसरी प्रतिनिधित्व गर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा शेर्पाहरूका लागि चारबुँदे प्रस्तावहरू तयार पारिएको र ती तार बुँदे प्रस्तावमा शिक्षा, संस्कृति, धर्म र अर्थनीतिलाई प्राथमिकता दिइएको जानकारी प्राप्त भएको छ। यस विषयमा अखिल भारतीय बौद्ध शेर्पा एसोसिएशनका सभापति छिरिङ शेर्पा अनि सचिव दोर्जे शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै ग्लोबल शेर्पा एसोसिएसनको सभा राख्नु विषयलाई लिएर विस्तृत जानकारी गराएका छन्।

दुवैले बताए अनुसार आजको सभामा सिक्किम, कालेबुङ, दार्जिलिङ, खरसाङ, डुवर्स सबैबाट शेर्पाहरू भेला भएर आगामी ८ अक्टोबरमा काठमाण्डौंंमा हुने ग्लोबल शेर्पा एसोसिएशनको सभामा भारतको प्रतिनिधि पठाउने विषयमा छलफल भएको बताएका छन्। दुवैले यस सभामा चार बुँदे प्रस्तावहरू शिक्षा, संस्कृति, धर्म र अर्थलाई लिएर प्रस्ताव राखिने भएको बताएका छन्। त्यसरी नै भारतभरिका शेर्पाहरूका ठाउँ ठाउँको कानुन अनुसार पञ्जीकरण गरिने अनि आगामी दिनमा सबैलाई एक ठाउँमा एकत्रित गरेर पञ्जीकरण गरिने जानकारी गराएका छन्।