२०१९ मा गल्ती गरिएको जनताले अनुभव गरिरहेका छन्ः एसआर सुब्बा
सोरेङ: “एसडीएफ पार्टी २०१९ को मतगणनाको दिन मात्रै हारेको थियो। एसडीएफले त्यस दिनदेखि अहिलेसम्म जनताको मन जितिरहेको छ”, राज्यको प्रमुख विपक्षी दल एसडीएफ पार्टीका सीडब्ल्युसी महासचिव सञ्चराज सुब्बाले यसप्रकारको मन्तव्य गरे। उनी सोरेङमा पार्टीको कार्यकारिणी सभालाई सम्बोधन गरिरहेका थिए। पश्चिम सिक्किमको चारवटा समष्टिलाई लिएर आयोजित सभालाई सम्बोधन गर्ने क्रममा बिहीवार एसडीएफ नेता सुब्बाले भने, “एसडीएफले यसरी जनताको मन जितेको छ भने एसकेएम पार्टी सरकारमा बसेको दिनदेखि जनताको नजरबाट हार्दै गइरहेको छ।”
आफ्नो पार्टीले अहिलेसम्म १४ वटा चुनाउ लडिसकेको बताउँदै तर जीतको कहिले पनि समीक्षा नगरिएको पनि सुब्बाले बताएका छन्। अब आफूहरू भित्रका त्रुटीहरू केलाउँदै जानुपर्ने उल्लेख गर्दै सुब्बाले आफूहरूसँग बौद्धिकताले सम्पन्न नेता भएको कारण संसार बलले होइन बुद्धिले मात्र जित्न सकिने पनि किटान गरेका छन्। गाउँलेहरूले २०१९ मा गल्ती गरेको अनुभव गरिरहेको पनि सो अवसरमा सुब्बाले दाबी गरेका छन्। एसडीएफ पार्टीका पश्चिम जिल्ला प्रभारी सतीश मोहन प्रधानको अध्यक्षतामा सम्पन्न सभामा गेजिङ जिल्ला कमिटीका पदाधिकारीहरूमा अफिस अर्डर पनि वितरण गरिएको थियो। आइतहाङ सुब्बाको सञ्चालन अनि लाकु सदामुको स्वागत भाषणबाट आरम्भ भएको सभामा पश्चिम जिल्ला युवा प्रभारी रविन तामाङ अनि पश्चिम जिल्ला प्रचार-प्रसार प्रभारी जीएस रिजालको विशेष उपस्थिति रहेको थियो। सभामा गेजिङ-बर्मेकका सीएलईसी अध्यक्ष मन्दीप लिम्बू, यकसम-टाशीडिङ समष्टिका सीएलईसी अध्यक्ष मिलन गुरुङ, याङथाङका सीएलईसी अध्यक्ष कर्मा वाङ्चुक लेप्चा अनि मानेबुङ-देन्तामका सीएलईसी अध्यक्ष अर्जुन गुरुङले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ राखेका थिए भने गेजिङ जिल्ला उपसभापति भीमशिला राई, गेजिङ जिल्लाका प्रचार सचिव पीबी राई र गेजिङ जिल्ला सभापति एसके खड्काले सांगठनिक सुदृढ़ीकरणबारे आ-आफ्ना विचार प्रस्तुत गरेका थिए।
आफ्नो रिपोर्टिङ राख्ने क्रममा सीएलईसी अध्यक्षहरूले एक-एक व्यक्तिको परिश्रमले क्षेत्रमा पार्टीको ग्राफ दिन प्रतिदिन बढिरहेको तथा पार्टी संगठनको विस्तार भइरहेको अवगत गराएका थिए। सभालाई युवा प्रभारी रविन तामाङले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा तामाङले एसडीएफ पार्टी पवन चामलिङको मात्र पार्टी नभएर जनताको पार्टी र विश्वमा इतिहास रचेको पार्टी रहेको दाबी गेरका थिए।