खरसाङ: दार्जिलिङको भाजपा सासंद राजु विष्टले आज मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका टीए (११ गोर्खा राइफल्स) का खरसाङका दुई शहीदका परिवारहरूलाई भेट गरेका छन्। सांसद राजु विष्टले खरसाङको रोहिणी गैरी गाउँस्थित हवाल्दार मिलन तामाङ र खरसाङको गौरी शंकर चियाबारी निवासी हवल्दार विधान राईको परिवारहरूलाई भेटघाट गरेका छन्। दुवैले आफ्ना अमूल्य जीवन देशका निम्ति बलिदान गरेका थिए। उनीहरुका परिवार पक्षँग भेट गरी सम्पूर्ण क्षेत्रवासी अनि राष्ट्रको तर्फबाट सासंद राजु विष्टले आफ्नो कृतज्ञता व्यक्त गरेका छन्। सासंद राजु विष्ट प्रथम खरसाङको रोहिणीस्थित गैरी गाउँ पुगेर शहीद मिलन तामाङको परिवारलाई भेटघाट गरी देशको सेवामा रहेको समय नै सहीद भएका शहीदको परिवारलाई गहिरो शोक समवेदना प्रकट गर्दै परिवारका सदस्य सदस्याहरुलाई भेटघाट गरेका छन्। त्यसपछि उनी खरसाङको गौरी शंकर चियाबारी पुगेर सहीद विधान राईको परिवारलाई भेटेका छन्। दुवै शहीदका परिवारहरूलाई भेट गरी सांसद राजु विष्टले हामी उनीहरुका परिवारले भोग्न परेको व्यथा र दुःखलाई कम त गर्न नसकौला तर पनि यस दु:खका समयमा हामी उनीहरुका साथमा छौं र हाम्रो सम्पूर्ण राष्ट्र उहाँहरुका परिवारका साथमा उभिएको छ भनी बताएका छन्। सासंद विष्टले उनीहरुको राष्ट्रप्रतिको नि:स्वार्थ बलिदानलाई म सलाम गर्दछु भन्दै हाम्रो दार्जीलिङ, कालेबुङ, तराई अनि डुर्वस एउटा सानो क्षेत्र भए पनि, देशको विकास र देश रक्षामा हाम्रो क्षेत्रवासीको योगदान अतुलनीय छ र यस क्षेत्रका प्रत्येक परिवारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यी जवानहरुका रुपमा आफ्ना परिवारका सदस्यलाई गुमाएका छन् भनी बताएका छन्।

उनले मैले हाम्रा वीर जवानहरुका परिवारलाई आस्वस्त गरेको छु कि भारत सरकार र भारतीय सेनाले उनीहरुलाई केही कमी हुनु दिने छैन अनि उनीहरुले मलाई पनि उहाँहरुकै परिवारको एक सदस्यको रुपमा लिएर दुःख-सुख साझा गर्ने आग्रह गरेको छु, म सधैँ हाम्रा सहिदहरुका परिवारका साथमा हुनेछु भनी बताएका छन्।
आजको यस भेटघाटमा सासंद राजु विष्टसँग खरसाङको विधायक बीपी बजगाईं, पश्चिम बङ्गाल भाजपा राज्य कार्यकारिणी सदस्य मनोज देवान अनि अन्य भाजपा नेतृत्व र कार्यकर्ताहरु उपस्थित थिए।