जलपाइगढी: तीन महिनाको लागि बन्द रहेपछि, डुवर्स अभयारण्य र आरक्षित वन शुक्रबारदेखि पर्यटकहरूको लागि खोलियो। वन खुलेको पहिलो दिन बिहान ७ बजे डुवर्सको गोरुमारा जंगलमा जङ्गल सफारीका लागि पर्यटकको भीड लागेको थियो। प्रत्येक वर्ष असार १६ देखि गोरुमारा, चप्रामारी, जल्दापाडालगायतका विभिन्न वन पर्यटकका लागि बन्द हुने गरेको छ, किनकी मनसुन सिजन वन्यजन्तुको प्रजनन सिजन हुने भएकाले जंगल बन्द रहन्छ।

यस अवधिमा कोही पनि जंगलमा प्रवेश गर्न र जंगली जनावरसँग छेडछाड गर्न नपरोस् भनेर तीन महिनासम्म वन बन्द राखिन्छ। अर्कोतर्फ पुजाअघि नै डुवर्सका विभिन्न होटल र रिसोर्टमा पर्यटक बुकिङ आउन थालेका छन्। तीन महिनापछि पुजाको सिजनमा राम्रो व्यापार हुनेमा पर्यटन व्यवसायी आशावादी छन्।