१६ सेप्टेम्बरः दिग्गज अलराउण्डर रविन्द्र जडेजा वनडे इण्टरनेशनल क्रिकेटमा २००० भन्दा अधिक रन र २०० भन्दा अधिक विकेट लिने भारतका दोस्रो अनि विश्वका १४औं क्रिकेटर बने। उनले शुक्रवार कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेलिएको एशिया कपको सुपर फोर राउण्डमा बंग्लादेश विरुद्ध यस विशेष उपलब्धिलाई हासिल गरे। आफ्नो १८२औं वनडे इण्टरनेशनल म्याच खेलिरहेका जडेजाले बंग्लादेशका शमीम हुसैनलाई आउट गरी आफ्नो २०० विकेट पूरा गरे। क्रिकेटको यस प्रारूपमा जडेजाले २५८५ रन पनि बनाएका छन्। जडेजा अघि भारतको तर्फबाट यस असाधारण उपलब्धिलाई महान अलराउण्डर कपिल देवले हासिल गरेका थिए। उनले २२५ वटा म्याचमा ३७८३ रन बनाउनको साथै २५३ विकेट पनि लिएका थिए। यसबाहेक जडेजा वनडे इण्टरनेशनल क्रिकेटमा २०० विकेट पूरा गर्ने सातौं भारतीय बलर बने। यसअघि अनिल कुम्बले (३३७ विकेट), जवागल श्रीनाथ (३१५), अजित अगरकर (२८८), जहीर खान (२८२), हरभजन सिंह (२६९) र कपिल देव (२५३) यस माईलखुट्टीसम्म पुगेका थिए। वनडेमा जडेजाले सर्वाधिक ४४ विकेट वेष्ट इण्डिज विरुद्ध लिएका छन्। त्यसपछि ईंग्ल्याण्ड विरुद्ध ३८, अष्ट्रेलिया विरुद्ध ३० र श्रीलंका विरुद्ध २८ विकेट हासिल गरेका छन्।