१६ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा शुक्रवार दुईवटा प्री क्वार्टर फाइनल म्याच खेलियो। दिनको पहिलो म्याचमा सेण्ट अल्फन्सस स्कूल, खरसाङले घूम बोइज हाई स्कूललाई १-०-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा विजेता टीमबाट एकमात्र गोल एरोन राईले दोस्रो हाफको सातौं मिनटमा गरे। विजेता टीमका प्रतीक विश्वकर्मालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा बदामताम हाई स्कूलले सेण्ट रोबर्ट्स स्कूलको ग्रीन टीमलाई ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगचुक तामाङले ह्याट्रिक गरे। यसबाहेक सिद्धार्थ प्रधानले २ र प्रणीत राईले १ गोल गरे। वांगचुक तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार प्री-क्वार्टर फाइनल चरणको अन्तिम दुईवटा म्याच खेलिनेछ। टुर्नामेण्टमा सोनादा हाई स्कूल र शारदा हाई स्कूलले चाहिँ अगावै क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।