गान्तोक: सिक्किम आक्रमण फुटबल क्लबले आगामी १९ सेप्टेम्बरको दिन आईएसएल फुटबल टीम जमशेदपुरसँग मैत्री खेल खेल्ने भएको छ। सिक्किमको इतिहासमा पहिलोपल्ट स्थानीय फुटबल क्लबले आईएसएल टोलीसँग म्याच खेल्ने आक्रमण एफसी पहिलो बनेको आक्रमण एफसीका संस्थापक सोनम ग्याल्छेन तेञ्जिङले जानकारी गराए।
आज गान्तोक नगरपालिका कार्यालयस्थित एरिना परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एफडीपीएलका बोर्ड अफ् डायरेक्टरको निर्देश बमोजिम जमशेदपुरसँग मैत्रीपूर्ण खेल खेल्न गइरहेको बताए। आक्रमण एफसी टोलीमा सिक्किम प्रिमियर लीगमा खेल्ने आठवटा टोलीबाट उत्कृष्ठ खेलाडीहरूको छनौट गरेको जानकारी गराए।
यस टोलीमा कूल २५ जना सदस्यहरू सामेल रहेका छन्, जसमा प्रबन्धक, कोच, फिजियो आदि छन्। उक्त टोली आगामी १८ सेप्टेम्बरको दिन सिक्किमबाट प्रस्थान गर्ने उनले थप जानकारी गराएका छन्। केही दिनअघि मात्र जमशेदपूर फुटबल टोलीबाट म्याच खेल्न तयार रहेको सूचना दिएपछि हाल यसको निम्ति युद्धस्तरमा तयारी चलिरहेको उनले बताए।
खेलाडीहरूलाई मनोबल साथै खेलको रणनीतिबारे जानकारी गराउने उद्देश्यले राष्ट्रियस्तरका खेलाडी विकास जैरूले हाल खेलको निगरानी गरिरहेको उनको भनाइ रहेको छ। सिक्किम प्रीमियर लीग हेरेपछि जमशेदपुर फुटबल टोलीले आक्रमण एफसीसँग खेल्न तयार भएको उनले बताए। उक्त खेलबाट राज्यका तीन-चार जना खेलाडीहरूलाई कुनै पनि क्लबले लिन सक्ने उनले सम्भावना व्यक्त गरे।
यसै क्रममा विकास जैरूले यदि राज्यमा एसपीएल खेल आयोजना नगरेको भए शायद आज आक्रमण एफसीले यस्तो अवसर पाउन नसक्ने पनि उनले बताए। स्थानीय खेलाडीहरूको निम्ति यो सबै भन्दा ठूलो अवसर प्राप्त भएको र उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने राज्यका खेलाडीहरूलाई अन्य क्लब साथै जम्शेदपुरले स्वमं पनि टोलीमा लिन सक्ने बताए।
यसरी नै एफडीपीएलका बोर्ड अफ् डायरेक्टर निम छिरिङ लेप्चाले राज्यका खेलाडीहरूले यो भन्दा ठूलो अवसर नपाउने बताउँदै सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने सुझाउ दिएका छन्। यदि त्यहाँ छनौट भएको खण्डमा खेलाडीहरूको भविष्य उज्जवल हुने उनले बताए।