१५ सेप्टेम्बरः एशिया कप क्रिकेट टुर्नामेण्टको सुपर फोर राउण्डको अन्तिम म्याचमा भारतले बंग्लादेश विरुद्ध ६ रनले हारको सामना गर्नु पऱ्यो। भारतले अगावै टुर्नामेण्टको फाइनलमा स्थान बनाइसकेको हुनाले आजको हारले रोहित शर्माको कप्तानीमा रहने टीमलाई अधिक असर परेन। कोलम्बोको आर प्रेमादासा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेशले कप्तान शाकिब अल हसन र तौहिद हृदोयको अर्द्धशतकको सहायताले ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनायो। यी दुई बाहेक नासुम अहमदले ४४ रनको योगदान दिए। भारतीय बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। जवाफमा भारतीय टीम ४९.५ ओभरमा २५९ रन बनाएर अलआउट भयो। ओपनर शुभमन गिलले ८ वटा चौका र ५ वटा छक्काको साथ १३३ बलमा १२१ रन बनाए तर उनले कुनै खेलाड़ीबाट असल साथ पाएनन्। अक्षर पटेलले ४२ रन बनाएर अन्तसम्म प्रयास गरे पनि भारतलाई जीत दिलाउन सकेनन्। कप्तान रोहित शून्य रनमा आउट भए। भारतीय टीम आज विराट कोहली, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह र मोहम्मद सिराज जस्ता स्टार खेलाड़ीहरू बिना मैदानमा ओर्लिएको थियो। बंग्लादेशका बलरहरूमा मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। यसबाहेक पदार्पण म्याच खेलिरहेका ताञ्जिम हसन शाकिब र मोहदी हसनले २-२ विकेट लिए। भारतले अब आइतवार खेलिने एशिया कपको फाइनलमा श्रीलंकाको चुनौती स्वीकार्नेछ।