बाग्राकोटः मूर्धन्य साहित्यकार नरबहादुर दाहालको निधनमा डुवर्सका विभिन्न संघ-संस्थाहरूले गहिरो शोक प्रकट गरेका छन्। दाहालको डुवर्ससँग गहिरो लगाव रहेको थियो। उनी डुवर्सका प्रायःजसो कार्यक्रममा सहभागी हुँदै आएका थिए। बद्रीनारायण प्रधानसँग उनको गहिरो सान्निध्य थियो। केही वर्षअघि मात्र उनी पूर्व डुवर्सको कालचिनीसम्म एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए। यात्राको दूरी र वार्धक्यको समेत ख्याल नगरी उनी डुवर्सका कार्यक्रमहरूतिर सहभागी भएर युवा पुस्तालाई हौसला प्रदान गर्दथे। यसैले दाहालको निधनमा डुवर्स पनि शोकाकुल बनेको छ।
डुवर्सका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू बिरामी अवस्थामा उनलाई भेट्न बागडोगरास्थित किरणचन्द्र चिया बगान पुगेका थिए। डुवर्सको माऊ संस्था डुवर्स नेपाली साहित्य विकास समिति (डुनेसाविस)-ले नरबहादुर दाहालको निधनमा गहिरो शोक प्रकट गरेको छ। विकास समितिका महासचिव रविन खवासले दाहालको निधन नेपाली साहित्यमा अपूरणीय क्षति बताएका छन्। विभिन्न समयमा डुवर्समा दाहालको आगमन र डुवर्सप्रति उनको लगावबारे पनि खवासले प्रकाश पारेका छन्। खवासले दाहाललाई ‘किम्वदन्ती पुरुष’ बताउँदै उनको निधनले डुवर्स मर्माहत भएको जनाएका छन्। विकास समितिका अध्यक्ष कृष्ण श्रेष्ठले पनि ‘नेपाली साहित्यका एक ध्रुवताराको निधनले हाम्रो समाजलाई अपूरणीय क्षति पुऱ्याएको’ बताएका छन्। यसैगरी, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले विगत दिनमा प्रतिष्ठानलाई प्रोत्साहन गर्न दाहालले निर्वाह गरेको भूमिकाको समेत स्मरण गर्दै उनको निधनमा शोक प्रकट गरेको छ। संस्थाका महासचिव रूपेश शर्माले भनेका छन्, “सन् 2014 मा उनलाई तेस्रो बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिएको थियो। बाग्राकोटमा प्रत्येक वर्ष जनवरी महिनामा हुने बद्रीनारायण प्रधान स्मृति जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा हरेक साल नै उनी आउँथे। उनी भन्थे-”म बाचुञ्जेल यो कार्यक्रम छुटाउँदिन।” नेपाली संसारले एक मौखिक इतिहासका विरासत गुमाएको शर्माले बताएका छन्।
डुवर्सको अर्को साहित्यिक संस्था साहित्य-परिक्रमाले पनि नरबहादुर दाहालको निधनमा शोक प्रकट गरेको छ। साहित्य-परिक्रमाका महत्त्वपूर्ण प्रकरणहरूमा दाहालको उपस्थितिले पुऱ्याएको ऊर्जा र कार्यक्रमलाई प्रदान गरेको गरिमाको पनि साहित्य परिक्रमाका कर्मठ सदस्यगण अजय श्रेष्ठ, गणेश बस्नेत, बिनु राई, रूपनारायण प्रधान, पंकज बस्नेतले स्मरण गरेका छन्।