१२ जुलाईः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले राष्ट्रमण्डल खेलहरूका निम्ति भारतीय महिला क्रिकेट टीमको घोषणा गऱ्यो। आउँदो २८ जुलाईदेखि ८ अगस्तबीच बर्मिंघममा हुने यी खेलहरूमा हरमनप्रीत कौरले टीमको अगुवाई गर्नेछिन्। स्मृति मन्धना उपकप्तान हुनेछिन्। यस टीममा सिलगढ़ीकी रिचा घोषले चाहिँ स्थान पाइनन्। टीम इण्डियाले यस मल्टी स्पोर्ट्स इभेण्टमा आफ्नो अभियानको शुरुवात २९ जुलाईमा गर्नेछ। भारतको पहिलो म्याच विश्व च्याम्पियन अष्ट्रेलियासँग रहेको छ। बीसीसीआईले यी खेलहरूका निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो। शीर्ष क्रममा स्मृति मन्धनाको साथमा शेफाली वर्मा, एस मेघना र यास्तिका भाटिया रहनेछिन्। मध्य क्रममा स्नेह राणा, पुजा वस्त्राकर, दीप्ति शर्मा र कप्तान कौर जस्ती अलराउण्डहरू छिन्। टीममा हरलीन देओल, तानिया भाटिया र जेमिमा रोड्रिग्स पनि रहेकी छन्। राष्ट्रमण्डल खेलहरूमा क्रिकेट २४ सालपछि फर्किरहेको छ जबकि महिला क्रिकेट पहिलोपल्ट हुन गइरहेको छ। यसअघि १९९८-मा पुरुष क्रिकेटलाई सामेल गरिएको थियो अनि त्यस समय १६ वटा टीमले हिस्सा लिएको थियो। यसपाली आठवटा महिला टीमले हिस्सा लिनेछ। यसपाली क्रिकेट प्रतियोगिता टी२० प्रारूपमा खेलिनेछ। यी म्याचहरूलाई अन्तर्राष्ट्रिय म्याचको दर्जा प्राप्त हुनेछ। यसअघि १९९८-मा वनडे म्याच खेलिएको थियो। प्रतियोगिताको पूल ए-मा भारतसँग अष्ट्रेलिया, पाकिस्तान र बारबाडोस रहेको छ। यसरी नै पूल बी-मा आयोजक ईंग्ल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका छ।
भारतीय टीम यसप्रकार छः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना, जेमिमा रोड्रिग्स, शेफाली वर्मा, एस मेघना, तानिया भाटिया, दीप्ति शर्मा, राजेश्वरी गायकवाड़, पूजा वस्त्राकर, मेघना सिंह, रेणुका ठाकुर, राधा यादव, हरलीन देओल अनि स्नेह राणा।









