सोरेङ: राजनीतिमा नेताको इमान, नतृत्व क्षमता र कामहरू चल्ने भएकोले सिक्किमे जनताले २५ वर्ष पवन चामलिङको इमान र कामलाई भोट दिएको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)- का वरिष्ठ नेता एमएन दाहालले बताएका हुन्। एसडीएफका वरिष्ठ उपाध्यक्ष तथा दक्षिण-पश्चिम जिल्ला प्रभारी रहेका दाहालले पार्टीको कार्यकारिणी समितिको एक विशेष सभालाई सम्बोधऩ गर्ने क्रममा राजनीतिमा इमानको महत्त्वलाई दर्शाएका हुन्। २५ वर्षको कार्यकालमा एसडीएफको बलियो गढ़ रहेको दक्षिण-पश्चिम जिल्लामा अहिले पार्टीको गतिविधिले तीव्रता पाउनुका साथै जनाधार पनि बलियो बन्दै गएको पार्टी स्रोतहरूले जानकारी दिएका छन्। मिशन-२४ लाई कार्यरूप दिन पार्टीले आफ्नो आन्तरिक र बाह्य रणनीति दुवैलाई बढ़ाएको स्रोतले बताएको छ।
सिक्किममा एक परिचित बुद्धिजीवी एवं व्यङ्ग्यकारका रूपमा स्थापित दाहालले पार्टीका क्षेत्रीय नेतृत्वहरूलाई सम्बोधन गर्ने क्रममा हिजो भने,”धेरै वर्षदेखि एकै स्थानमा रहेको सुत्ने खाटलाई पनि कोही बेला अर्को कुनामा राख्दा नयाँ अनुभव गर्ने मान्छेको मनोविज्ञान भएकोले त्यो नयाँ अनुभूति गर्न चार वर्ष वर्तमान सरकारलाई सिक्किमे जनताले टेस्टको लागि भोट दिएका हुन्। जनताले नयाँ सरकारको अनुभूति कस्तो र कसरी गरेका छन्, सारा सिक्किमे जनतालाई थाहा छ।” नवगठित जिल्ला सोरेङका पार्टी पदाधिकारीहरूको बाक्लो उपस्थितिलाई सम्बोधन गर्ने क्रममा दाहालले अझ भने,”वर्तमान सरकारले पटक-पटक राजनीतिक गल्तीहरू गर्दै छ।” एसडीएफका पश्चिम जिल्ला प्रभारी सतीश मोहन प्रधानको अध्यक्षक्तामा सम्पन्न सभामा दाहालले एसडीएफ पार्टीको ‘सिक्किम बचाऔँ अभियान’-लाई आत्मसाथ गर्दै राज्यका राम्रा र प्रबुद्ध व्यक्तिहरू अहिले पार्टीमा जोडिँदै गएको पनि अवगत गराए।

सभामा पार्टी उपाध्यक्षद्वय डा. एडी सुब्बा, जेबी दर्नाल अनि पश्चिम जिल्ला युवा प्रभारी रविन तामाङको पनि उपस्थिति रहेको थियो भने सोरेङ जिल्ला सभापति एमएस सुब्बा अनि सचिव एसआर सुब्बाले आफ्नो सम्बोधन राखेका थिए। यसरी नै सीएलईसी सभापतिगण सन्दीप राई, आईबी थापा, आरएल गुरुङ, सुकराज सुब्बा अनि सन्तोष सुब्बाले पनि पार्टीका गतिविधि, जनसम्पर्क र जनअपेक्षा विषयमा आ-आफ्नो रिपोर्टिङ प्रस्तुत गरेका थिए।