कुचबिहार: तृणमूल कंग्रेसले कुचबिहार जिल्ला परिषदको ३४ वटा आसनहरूमध्ये ३२ वटामा जीत हासिल गरेको थियो। लामो बहसपछि कोचबिहार जिल्ला परिषद अधिकारीहरूले अन्ततः स्थायी समितिको गठनलाई समर्थन गरेका छन्। यस क्रममा जिल्ला परिषदका सभाधिपति सुमिता बर्मन र सहकारी सभापधिपतिमा अब्दुल जलील अहमदको नाम घोषणा गरिएको थियो भने बाँकी ९ अधिकारी र ९ विभागको स्थायी समिति आज गठन गरिएको छ। पत्रकार सम्मेलनमा कुचबिहार जिल्ला तृणमूल अध्यक्ष अभिजित दे भौमिकले आज स्थायी समिति गठन भएको र सात दिनपछि यस समितिबाट कार्यकारिणीको नाम चयन गरिने बताए। प्रत्येक समितिमा चारजना सदस्यको नाम आज घोषणा गरिएको छ। समितिमा पार्टी नेताका रुपमा मीर हमायु कबीरको नाम परेको छ भने यसैगरी निरञ्जन सरकार उपकार्यकारी अध्यक्ष बन्न सक्नेछन्। यसबाहेक बाँकी ९ वटा विभागमा चार–चार सदस्य छन्। यद्यपि आज कार्यकारी अध्यक्ष चयन नभएको अभिजीत दे भौमिकले स्पष्ट पारेका छन्।

स्थायी समिति गठन भइसकेपछि पनि कार्यकारी अध्यक्ष चयन नहुनुलाई तृणमूलको आन्तरिक द्वन्द्वका रूपमा राजनीतिक वृत्तमा हेरिएको छ। पदाधिकारी घोषणा भएमा पार्टीमा द्वन्द्व हुन सक्ने विज्ञहरुको भनाइ छ। तर, विभिन्न विभागमा काम गरेका र लामो समयदेखि जिल्ला परिषद्मा रहेर अनुभवी व्यक्तिलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिन सकिने पार्टी स्रोतले जनाएको छ। तर कार्यकारी अध्यक्ष को हुने भन्नेमा तृणमूल क्याम्पमा अन्तरविरोध छ।