उत्तर दिनाजपुर: अबेर राति केही बदमाशहरुले एउटा खाली घरमा आगो झोसेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, उत्तर दिनाजपुर जिल्लाको चोपड़ा थानाको खोरीबारी क्षेत्रमा रहेको उक्त घरमा बस्ने निमाई चन्द्र दास एक महिनाअघि अलि टाढा नयाँ घरमा सरेको बताइएको छ।

घरमा नबसेता पनि घरभित्र अन्य सामानहरु राखिएको थियो। अबेर राति गाउँलेहरुले खाली घरमा आगो लागेको देखेर खैलाबैला मच्चिएपछि गाउँलेहरुले आगो निभाउन थाले। घटनास्थलमा चोपड़ा र इस्लामपुर दमकलको इन्जिन पुगेर आगो नियन्त्रणमा लिएको थियो।

यता घरधनी निमाईचन्द्र दासले राति आफ्नो घरमा कसैले पेट्रोल छर्केर आगो लगाएको दाबी गरेका छन्। घरबाट पेट्रोलको जार बरामद भएको छ। घरमा रहेका केही सामान जलेर खरानी भएको छ। तर किन असामाजिक तत्वहरुले उनको घरमा आगो झोस्यो भन्ने कुरा बुझ्न नसकेको पीड़ित निमाई चन्द्र दासले जनाएका छन्। खबर पाएलगत्तै चोपड़ा थानाबाट पुलिसबल घटनास्थल पुगेको थियो भने घटनाको अनुसन्धान सुरु गरेको पुलिस सुत्रले जनाएका छन्।