१५ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा बिहीवार दोस्रो प्री क्वार्टर फाइनल म्याच खेलियो। यस चरम रोमाञ्चक म्याचमा सेण्ट रोबर्ट्स ब्लू-ले टर्नबूल हाई स्कूललाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। बुद्ध तामाङले दिलाएको २ गोलको सहायताले एक समय त टर्नबूल हाई स्कूलको जीतको नजिक पुगिसकेको थियो तर सेरोन लिम्बुले अन्तिम क्षणमा गोल गरी सेण्ट रोबर्ट्स ब्लू टीमलाई २-२-को बराबरीमा पुऱ्याए।

टर्नबूल हाई स्कूलका बुद्ध तामङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा सोनादा हाई स्कूल र शारदा हाई स्कूलले चाहिँ अगावै क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।