गान्तोक: सिङताम गोलिटार मैदानमा आगामी १८ सितम्बरको दिन एसकेएम पार्टी नारी शक्ति प्रकोष्ठको तत्वावधानमा आयोजना हुने राज्यस्तरीय तीज पर्वको तयारी तीव्र गतिमा भइरहेको छ। आज पार्टीका सेक्रेटरी जेनरल तथा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती, मन्त्री सञ्जित खरेल, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत सम्मिलित टोलीद्वारा तयारी कार्यको स्थलगत निरिक्षण गरे। यस अवसरमा पुर्व विधायक एम प्रसाद शर्मा, सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, सामाजिक सेवा प्रकोष्ठ महासचिव रूपा कार्की, मुकेश अग्रवाल, वार्ड पार्षद, पञ्चायत अध्यक्ष कुसुम तामाङ, जिल्ला युवा संयोजक विशाल छेत्री, उप संयोजक सीके ढकाल, सीएलसी (युवा प्रकोष्ठ) विधान शंकर, सांस्कृतिक प्रकोष्ठका उपाध्याक्ष उत्तम प्रधान, तिमी नाम्फिङ सीएलसी अध्यक्ष गोपाल छेत्री, नारी शक्ति, पार्टी कार्यकर्ता तथा खाम्दोङ सिङताम समष्टिका सक्रिय पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो। टोलीले तयारी स्थलको भ्रमण गर्दै चलिरहेको तयारी कार्यको समीक्षा गरेको छ। एसकेएम पार्टी नारी शक्ति प्रकोष्ठको तत्वावधानमा यस बर्ष हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज भव्यताका साथमा पालन गर्ने निर्णय गरेको छ। जसको निम्ति राज्यका छ वटै जिल्लाहरूमा जिल्ला स्तरीय नृत्य प्रतियोगिताहरू पनि आयोजना भईरहेको छ भने उक्त प्रतियोगिताबाट छनौट भएका एक एक वटा टोलीले राज्य स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा पालन गरिने उक्त राज्य स्तरीय तीज पर्वको निम्ति अहिले तयारी कार्य युद्वस्तरमा भईरहेको छ। उक्त समारोहलाई भव्यताका साथ पालन गर्न सबैलाई कार्यक्रममा उपस्थित भईदिने हार्दिक निवेदन पनि गर्दछौं।