गत २५ सालमा पहिलोपल्ट ऱ्याङकिंग पाएनन् फेडररले, विम्बल्डनमा खेल्नेहरूलाई नोक्सान

IMG-20220712-WA0103.jpg

१२ जुलाईः रोजर फेडरर सोमवार जारी एटीपीको नवीनतम् ऱ्याङकिंग (पुरुष एकल)-मा गत २५ सालमा पहिलोपल्ट बाहिर भएका छन् जबकि आफ्नो सातौं विम्बल्डन खिताब जित्ने नोवाक जोकोविच पनि चार स्थान झरेर सातौं स्थानमा पुगेका छन्। यसरी नै विम्बल्डनमा उपविजेता रहने निक किर्गियोस पनि यस ऱ्याङकिंगमा ४०औं स्थानबाट झरेर ४५औं स्थानमा पुगेका छन्। जोकोविच र किर्गियोसले असाधारण प्रदर्शन गरेर पनि ऱ्याङकिंगमा सुधार गर्न सकेनन् कारण रुस र बेलारुसका खेलाड़ीहरूमाथि प्रतिबन्ध लगाइएको हुनाले एटीपी र डब्ल्यूटीए-ले विम्बल्डन टेनिस च्याम्पियनशीपमा खेलाड़ीहरूलाई ऱ्याङकिंग पोइण्ट नदिने फसेला गरेको थियो। स्विट्जरल्याण्डका दिग्गज खेलाड़ी फेडररले सेप्टेम्बर १९९७-मा १६ सालको उमेरमा पदार्पण गरेपछि हरेक हप्ता एकल ऱ्याङकिंगमा स्थान बनाउन सफलता हासिल गरेका थिए। उनी ऱ्याङकिंगमा ८०३औं स्थानबाट यात्रा शुरु गरेर शीर्ष स्थानसम्म पुगेका थिए। ऱ्याङकिंगमा सबैभन्दा अधिक समयसम्म पहिलो स्थानमा रहने उनको रेकर्डलाई जोकोविचले तोड़ेका थिए। विम्बल्डन शुरु हुन अघि फेडरर ९७औं स्थानमा थिए तर अल ईंग्ल्याण्ड क्लबमा टुर्नामेण्ट समाप्त भएपछि उनीसँग एक ऱ्याङकिंग पोइण्ट पनि रहेन। ऱ्याङकिंग खेलाड़ीहरूका गत ५२ हप्ताको प्रदर्शनमाथि आधारित हुन्छ अनि फेडररले गत साल विम्बल्डनको क्वार्टर फाइनलपछि कुनै प्रतिस्पर्धी म्याच खेलेका छैनन्। त्यस म्याचपछि फेडररले आफ्नो देब्रे घुँड़ाको सर्जरी गराउनु परेको थियो अनि त्यसपछि उनी खेलमा फर्किन सकेका छैनन्।
विम्बल्डन च्याम्पियनशीपमा ऱ्याङकिंग पोइण्ट प्राप्त नभएको परिणाम महिला एकल वर्गमा आफ्नो पहिलो ग्राण्ड स्ल्याम जित्ने एलेना रिबाकिनाले पनि सहनु पऱ्यो। उनी पहिला झैं २३औं स्थानमा कायम छिन्। शनिवार फाइनलमा रिबाकिना विरुद्ध पराजित हुने ओन्स जाबूर पनि दोस्रो स्थानबाट झरेर पाँचौं स्थानमा पुगेकी छन्। गत वर्ष उपविजेता रहने क्यारोलिना प्लिसकोवा झरेर १५औं स्थानमा पुगेका छन्। यसअघि उनी आठौं स्थानमा रहेकी थिइन्। अष्ट्रेलियन ओपनमा उपविजेता रहने डेनिल कोलिन्स सातौं, अमेरिकी ओपन विजेता एम्मा राडुकानु दशौं र फ्रेञ्च ओपनमा उपविजेता रहने कोको गफ ११औं स्थानमा रहेकी छन्। लगातार ३७ वटा जीतपछि विम्बल्डनमा हारको सम्मुखीन हुने फ्रेञ्च ओपन च्याम्पियन इगा स्वियातेक महिला एकल ऱ्याङकिंगको शीर्ष स्थानमा कायम छिन्। यसरी नै पुरुष एकलमा रुसका दानिल मेदवेदेव शीर्ष खेलाड़ी हुन् तर उनले विम्बल्डनमा खेल्ने मौका पाएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement