दार्जीलिङ: आफ्नो वचन पूरा गर्ने अपिल गर्दै ९ जना सभासदहरूले जीटीए चिफ् अनित थापालाई पत्र लेखेका छन्। गत ९ सेप्टेम्बरको दिन कालेबुङको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए चिफ् अनित थापाले चिया श्रमिकहरूलाई उनीहरूको अधीनमा रहेको सबै जमीनहरूको पट्टा दिलाउने वाचा गरेको थियो। यी विषयलाई ध्यानमा राख्दै निर्वाचित सभासद अजय एडवाडर्स, सभासद विनय तामाङ, सभासद रोबर्ट छेत्री, सभासद रूबेन दास प्रधान, सभासद सन्नी बम्जन, सभासद जितेन राई, सभासद सुरज राई, सभासद पाल्देन तामाङ, सभासद प्रतिम सुब्बाले जीटीए चिफ् अनित थापालाई पत्रचार गरेका छन्। जीटीए मुख्यालय लालकोठीमा पठाएको पत्रमा निर्वाचित 9 जना सभासदहरूको हस्ताक्षर रहेको छ। राज्य सरकारको भूमि सुधार विभागले गत केही महिना अघि एक अधिसूचना जारी गरेर चिया बगानको श्रमिकहरूलाई अधिकत्तम पाँच डेसिमल पट्टा दिने घोषणा गरेका थिए अनि अधिकतम पाँच डेसिमल पट्टाको निम्ति सर्वे कार्यको कार्य शुरू समेत गरी सकेका थिए। राज्य सरकारको भूमि सुधार विभागद्वारा जारी गरिएको उक्त अधिसूचनालाई चिया श्रमिकहरूले विरोध जनाउँदै आईरहेका थिए। श्रमिकहरूको विरोध दिन प्रतिदिन चुलिन्दै गएपछि राज्य सरकारको भूमि सुधार विभागले अर्को अधिसूचना जारी गरेर अधिकत्तम पाँच डेसिमल पट्टाको सर्वेलाई अहिलेलाई स्थगित गरिएको छ।

यसै अवधि कालेबुङको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए चिफ् अनित थापाले चिया श्रमिकहरूको सबै जमीनको हक र अधिकार दिलाउने वाचा गरेको थियो। निर्वाचित 9 जना सभासदहरूले जीटीए चिफ् अनित थापालाई पाँच डेसिमल पट्टाको अधिसूचनालाई पूर्ण रूपमा खारिज गरेर चिया श्रमिकहरूको सबै जमीनको हक र अधिकार दिलाउने अपिल गरेको छ। पत्रमा सभासदहरूले जीटीए चिफ् अनित थापा समक्ष जीटीए सभाको सभा बोलाउने अनुरोध पनि गरेका छन्। चिया बगानहरूमा कार्यरत चिया श्रमिकहरू देश स्वाधीन हुनभन्दा अघि नै जमीनसंग आएको हो।पिता पूर्खाहरूले कमाउँदै आएको ती जमीनहरू चिया श्रमिकहरूकै नाममा हुन पर्छ भन्ने आफुहरूको अडान रहेको पत्रमा बताएका छन्।











