काठमाडौं: अभिनेता राज कटुवाललाई चिन्नेले मोडल तथा अभिनेताको रुपमा चिन्छन्। फिल्म ‘लीला’ र ‘लालटिन’मा आफ्नो अभिनय कला देखाइसकेका राज अब नायकबाट निर्मात बन्ने भएका छन्। राज चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत हुन्। राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन्। यो फिल्ममा चर्चित निर्देशक दिवाकर भट्टराईको निर्देशन रहनेछ। यतिबेला यस फिल्मको छायाकंन गर्ने तयारी हुँदैछ। छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ।
प्रेमकथा रहने यस फिल्मका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्। अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने समिमले यो फिल्मबाट डेब्यू गर्दैछन्। फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ। भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन्। क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष १९ सेप्टेम्बरबाट फ्लोरमा जाने तयारीमा रहेको छ। फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ। पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ।











