गान्तोक: आगामी २ अक्टोबरको दिन राज्यस्तरीयरूपमा पालन गरिने गान्धी जयन्ती तयारीलाई लिएर आज राज्यका मुख्य सचिव भीवी पाठकको अध्यक्षतमा एक सभा सम्पन्न भयो। राजधानीस्थित टाशीलिङ सचिवालयमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले राज्यस्तरीयरूपमा पालन गरिने गान्धी जयन्ती महोत्सवलाई सफल बनाउनको निम्ति आवश्यक तयारीबारेमा जानकारी गराए।
उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विभिन्न विभागको भूमिका र जिम्मेवारीबारे जानकारी गराउँदै एक अर्कामा तालमेल राखेर काम गरेमा अवश्य पनि सो कार्यक्रम सफल हुने बताए। यस अवसरमा विभागका अधिकारीहरूसँग उनले अन्तरक्रिया गर्दै अधिकारीहरूबाट कार्यक्रम तयारी र सफलताबारे सुझाउ पनि लिए।
आजको यस सभामा अतिरिक्त मुख्य सचिव ए. सुधाकर राव, शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।