गान्तोक: आगामी २१ सेप्टेम्बरदेखि २९ सेप्टेम्बरसम्म पाकिम जिल्ला अन्तर्गत छुजाचेन निर्वाचन क्षेत्रमा आयोजना गरिने आमासा हिलिङ शिविरलाई लिएर आज एक समीक्षा सभा सम्पन्न भयो।
मन्त्री विष्णु कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न भएको समीक्षा सभामा विशेष गरेर नौ दिवसीय आमासा हिलिङ शिविरबारे छलफल गरियो।
पाकिम जिल्ला अन्तर्गत छुजाचेन समष्ठीमा आयोजना हुने उक्त शिविरलाई सफल तुल्याउनको निम्ति आज समीक्षा सभाको आयोजना गरिएको बताइएको छ। आजको यस सभामा पञ्चायत अध्यक्ष, पूर्व विधायकद्वय बिक्रम गुरूङ, पुरण गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस सभामा मन्त्री खतिवडालाई सो कार्यक्रमको मुख्य संरक्षककोरूपमा मनोनित गरियो भने जिल्ला अध्यक्षलाई संरक्षककोरूपमा मनोनित गरिएको छ।
सभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सो कार्यक्रमलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति सबैले आ-आफ्नो तर्फबाट योगदान साथै सहयोग पुऱ्याउनु पर्ने आग्रह गरे। आगामी २१ सेप्टेम्बरदेखि शुरू हुने नौ दिवसीय शिविरमा उपचार हेतु आउने सबै रोगीहरूलाई सबै प्रकारको सुविधा उपलब्ध गराएर उनीहरूलाई शिविरको लाभ उठाउन सक्ने वातावरण दिनुपर्ने जानकारी गराए।