दार्जिलिङ: ५ डेसीमल जमीनको पट्टा अस्वीकार गरेर एकता देखाएकोमा जनतालाई धन्यवाद दिदँछु भनी दार्जिलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज बताएका छन्। उनले दार्जिलिङको सुखिया पोखरीमा सुखिया पोखरी मण्डलद्वारा आयोजित जनसभालाई सम्बोधित गर्दै उक्त कुरा बताएका छन्। सुखे पोखरीमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै दार्जिलिङका भाजपा सांसद राजु विष्टले भने,’कोलकाताको निर्देशन अनि पहाड़मा टीएमसीद्वारा समर्थित समस्या उत्पन्न गर्नेहरू विरुद्ध उँभिएकोमा मैले जनतालाई धन्यवाद दिएँ। बगान श्रमिकहरूलाई ५-डेसिमल शरणार्थी पट्टा स्वीकार गर्न बाध्य गर्ने अनि बाँकी जमिन तिनीहरूका भूमाफिया मित्रहरूलाई हस्तान्तरण गरेर यस क्षेत्रमा जनसांख्यिकीय परिवर्तन गराउने पश्चिम बङ्गाल सरकारको कुत्सित योजना अहिलेको लागि रोकिएको छ। तर हाम्रो संघर्ष जारी छ।’

उनले अघि भने, चिया बगान, सिन्कोना बगान, वन-बस्तीहरू, अनि (पूर्व) डीआई फण्ड बासिन्दाहरूलाई उनीहरूका पुश्तैनी जमिनको पूर्ण पर्जा पट्टा नदिलाइएसम्म हामी सञ्चले बस्ने छैनौँ। हामी पश्चिम बङ्गाल सरकारको शोषण अनि भेदभावलाई सहने छैनौँ। जीटीए नेताहरूले लोभमा परेर आफ्नो आत्म-सम्मान गुमाएका छन्। तिनीहरूको स्वार्थपूर्ण कामले हाम्रो क्षेत्रका गोर्खा, राजवंशी, आदिवासी अनि अन्य मूलवासी समुदायहरूको भविष्य कसरी प्रभावित हुन सक्छ अनि खतरामा पर्न सक्छ भन्ने तिनीहरूले बुझ्न सकेका छैनन्। केन्द्रीय सरकारद्वारा ठूलो मात्रामा अनुदान प्रदान गरिनुका बावजूद तिनीहरूले क्षेत्रको कल्याणको अवहेलना गरिरहेका छन्। जीटीए अनि अनन्य स्थानीय निकायहरूले सार्वजनिक कोषको दुरुपयोग गरिरहेका छन्।”

सासंद विष्टले अझ भने, म तिनीहरूलाई चेताउनी दिन्छु कि तिनीहरूका अब गन्तीका दिन बाँकी छन् अनि उनीहरूको जवाफदेहिता निर्धारित गरिने छ। जनताको पैसा फिर्ता गराइनेछ अनि विदेशमा तिनीहरूका खाताको जाँच गरिने छ। म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो क्षेत्र अनि जनताका लागि उज्ज्वल दिनहरू आउँदैछन् र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हामी हाम्रो बाँकी देशसँगै काँधमा काँध मिलाएर हिँड़्नेछौँ।’

यस जनसभामा दार्जिलिङ जिल्लाका बीजेपी जिल्ला अध्यक्ष कल्याण देवान, दार्जिलिङका विधायक निरज जिम्बा अनि बीजेपी तथा जीएनएलएफका अन्य नेताहरू एवं कार्यकर्ताहरूको उपस्थिति थियो।