दार्जिलिङ: पश्चिम बंगाल सरकार महिला तथा बाल विकास तथा समाज कल्याण विभाग विकास भवन, कोलकोताले आदेश पत्र जारी गरेको छ। पत्रको विषय आँगनवाडी कर्मीहरू र सहयोगीहरूको छनौट अनि मनिटरिङ गर्न जिल्ला स्तरीय समितिको गठन रहेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई क्षेत्रभित्र छनौट अनि मनिटरिङको शक्ति प्रदान गरिएको छ। आँगनवाडी कर्मीहरू अनि सहयोगीको छनौट गरिने जिल्ला स्तरीय समितिमा दार्जीलिङ जिल्ला (जीटीए क्षेत्र) समितिको अध्यक्ष जीटीए मुख्य सचिव रहेछन्। उपाध्यक्ष दार्जीलिङ जिल्लापाल रहनेछन् अनि सदस्यको रूपमा एलबी राई, अध्यक्ष, मिरिक नगरपालिका रहनेछन्। त्यसरी नै कालेबुङ जिल्लाको छनौट समितिमा अध्यक्ष मुख्य सचिव, जीटीए, उपाध्यक्ष जिल्लापाल कालेबुङ अनि सदस्य रुदेन सदा लेप्चा, विधायक, कालिम्पोङ रहनेछन्।
आईसीडीएसका कार्यकारी सभासद कल्पना प्रधान अनि एक्जिक्युटिभ डाइरेक्टरको देखरेखमा विभागीय छनौट सम्पन्न हुनेछ। स्मरण रहोस् – आँगनवाडी कर्मीहरू अनि सहयोगीको अन्तिम भर्ती २००९-१० मा भएको थियो। त्यसपछि आजसम्म कुनै छनौट भएको छैन। स्रोत अनुसार आजको दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत यस विभागमा धेरै पदहरु रिक्त छन्।कोलकाताबाट जीटीए चिफ् अनित थापाले भने, “जीटीएको निम्ति यो असल कुरा हो। पञ्चायतहरूमा रिक्त पद भर्ती गर्ने जुन अधिकार अनि शक्ति जीटीएलाई दिएको छ, त्यस्तै आँगनवाडी कार्यकर्ता अनि सहयोगीहरु भर्ती गर्ने अधिकार अनि शक्ति जीटीएलाई प्रदान गरेको छ। शक्तिसँगै हामीलाई जिम्मेवारी पनि दिइएको छ। विस्तारै हाम्रो शिक्षित युवाको निम्ति रोजगारको दैलो खुलिन्दैछ।”