दार्जिलिङ: कोलकातामा भूमि अनि भूमि सुधार विभागका सचिवसँग अनित थापाको बैठक सम्पन्न भएको छ। जीटीए प्रमुख अनित थापाले कोलकाताको नवान्नमा भूमि अनि भूमि सुधार विभागका सचिव इसमार्की महापात्र, आईएएससँग भेटघाट गरेका छन्। आधा घण्टा लामो बैठकमा भूमि अनि भूमि सुधार विभागका सचिवसँग अन्य अधिकारीहरू पनि उपस्थित थिए। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सचिवलाई ज्ञापन पत्र चढाएको पनि बताएका छन्। उक्त भेटघाट विषयमा अनित थापाले भने, “जबसम्म मेरो कमानको आमा बाबाहरुले सबै जमीनको अधिकार आफ्नो नाममा पाउँदैन तबसम्म म बस्नेवाला छुइन। यो हो मेरो प्रतिज्ञा। मेरो वचन हो। ममाथि भरोसा राख्नुहोस्। जमीनको अधिकार दिलाएर नै छोड्नेछु।”
उक्त भेटघाटपछि प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘मेरो भेटघाटमा मैले दुई प्रमुख बुँदाहरु सचिवहरु समक्ष राखे। एक – दार्जीलिङ्ग पहाडको चिया बगानका रैथानेहरु अनादिकालदेखि नै रही आएका हुन्। उहाँहरुको आफ्नै घर छ। उहाँहरू खेतीपाती, बागवानी, फूलखेती आदिमा पनि संलग्न छन्। यो संलग्नता भारत स्वतन्त्र हुनुभन्दा कैयौं वर्ष पूर्व देखिको हो। दोस्रो- राज्य सरकारले गत १ अगस्तको दिन घडेरी पट्टा दिलाउन पहल सुरु गर्दै अधिसूचना जारी गरेको थियो। कमानवासीलाई केवल ५ डेसिमल जमीनको घडेरी पट्टा चाहिएको होइन तर अधीनमा रहेको सम्पूर्ण जमीनको अधिकार पत्र चाहिएको हो। जन आकांक्षालाई मध्यनजरमा राखेर मैले राज्यका मुख्य सचिवलाई पनि जनताको मनको कुरा राखेको थिए। त्यही मुताबिक हिजो मात्र सरकारको तर्फबाट जमीनको सर्वेक्षणमा रोक लगाइयो। यसको निम्ति म धन्यवादी छु।’
उनले अझ भनेका छन् – ‘मैले सचिवलाई भने कि कमानवासीको जमीनको मुद्दा अधिकारको मुद्दा मात्र नभएर भावनासँग जोडिएको मुद्दा हो। यही जमीनमा कैयौं पुस्ताले आफ्नो पसिना अनि खुन बहाएर चिया बगानको अस्तित्व मात्र नभएर देश कै आर्थिक समृद्धिमा पनि ठूलो योगदान दिएका छन्।
मैले उपर्युक्त मुद्दाहरूलाई केन्द्रमा राखेर उहाँलाई कमानवासीको अधीनमा रहेको सम्पूर्ण जमीनको निम्ति (घडेरी अनि कृषि जमीन) पट्टा दिलाउन सर्वेक्षण सुरु गरिदिने मांग गरेको छु। म विश्वस्त छु कि सरकारले हाम्रो मांगमाथि सकरात्मक पहल सुरु गर्नेछन्।’
थापाले भनेका छन् -‘मैले बारम्बार भन्दै आएको छु, अनित थापाले जे भन्छ त्यो गर्छ नै गर्छ। म भाषण मात्र गर्ने नेता होइन। म समस्यादेखि भाग्ने नेता होइन। समाधान निकाल्नु, जनताको पक्षमा वकालत गर्नु अनि काम गर्ने नेता हुँ। मलाई जनताले जनताको हितको निम्ति काम गर्न कुर्सी मा राखेको हो। मैले मेरो नीति अनि सिद्धान्त अनुसार नै जनताको निम्ति काम गरेको छु। मेरो कमानवासी दाज्यु भाई, दिदी बहिनी, आमा बाबुले अधिकार पाउनु पर्छ भन्ने मेरो पनि आकांक्षा रहेको छ। मैले कमानवासीलाई वचन दिएको छु कि म सरकारलाई सम्झाएर, बुझाएर कमानवासीको अधीनमा रहेको सबै जमीनको पट्टा दिलाउनेछु। यो मेरो प्रण हो। त्यसैले म कोलकाता आए। सम्बन्धित अधिकारीहरू सँग मुद्दा माथि विमर्श गरे। उहाँहरूले पनि हाम्रो समस्यालाई राम्ररी सुन्नु भयो, बुझ्नु भयो। उहाँहरूले मलाई सकरात्मक वचन दिनु भएको छ।’