गेजिङ: सिक्किमको प्रमुख विपक्षी दल सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) प्रवक्ता तथा पार्टीका उपाध्यक्ष जेबी दर्नालले केन्द्र सरकार सिक्किम र सिक्किमेको अधिकार र अस्तित्व मास्न लागिपरेको आरोप लगाएका छन्। तर एसडीएफ पार्टी सिक्किमेको सामाजिक-राजनीतिक अधिकार सुरक्षा गर्न कटिबद्ध रहेको बताउँदै अहिले सिक्किमे जनता चामलिङ फर्काउन तयार रहेको दर्नालले दाबी गरेका छन्। आज पश्चिम जिल्लाको गेजिङस्थित पार्टी कार्यालयमा पश्चिम जिल्लाका चारवटा समष्टिका नेता-कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दर्नालले यस्तो दाबी गरेको जानकारी पाइएको छ।
एसडीएफ उपाध्यक्ष तथा पश्चिम जिल्ला प्रभारी सतीशमोहन प्रधानको अध्यक्षतामा सम्पन्न चारवटा निर्वाचन क्षेत्रको परिचयात्मक एवं मासिक समन्वय सभाको क्रममा प्रवक्ता दर्नालले सत्तापक्षले एसडीएफ पार्टी सकियो भन्दै विभिन्न प्रचार गरे पनि एसडीएफ झन् बलियो र शक्तिशाली बन्दै गएको बताएका छन्। आफ्नो सम्बोधनमा उनले भने, “एसडीएफको बढ्दो लोकप्रियतासँगै एसकेएम पार्टीको लोकप्रियता घट्दै गएको छ।” सभामा एसडीएफका वरिष्ठ उपाध्यक्ष तथा पश्चिम-दक्षिण जिल्लाका प्रचार-प्रसार प्रमुख एमएन दाहाल, पश्चिम-दक्षिण जिल्लाका युवा प्रभारी रविन तामाङ, गेजिङ जिल्ला अध्यक्ष एनबी छेत्री, मानेबुङ-देन्तामका सीएलईसी अध्यक्ष अर्जुन गुरुङ, पश्चिम जिल्लाका प्रचार-प्रसार प्रमुख जीएस रिजाललगायत पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको बताइको छ। सभालाई एमएन दाहालले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा दाहालले एसडीएफ पार्टी सबै तह र तप्कालाई लिएर अघि बढ्ने पार्टी रहेको जानकारी दिए। सिक्किमे जनताले चामलिङ फर्काउने इच्छा गरिरहेको दाबी गर्दै उनले सिक्किमको अस्तित्व रक्षा गर्न युवा-नारी शक्ति कम्मर कसेर अघि बढ्न निर्देशन पनि दिए। सभालाई जीएस रिजाल र रविन तामाङले पनि सम्बोधन गरेका थिए।
सभामा वर्तमान सरकारको कार्यपद्धतिको आलोचनाका साथै एसडीएफ-को भावी रणनीतिको परामर्श गर्दै मिशन-२४ लाई कार्यान्वयन गरेर अबउसो सबैले आफ्नो क्षमताका साथ घरदैलो अभियान सञ्चालन गरिने प्रण पनि गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।