गान्तोक: शहरी विकास विभागका सचिव एमटी शेर्पा सहित विभागका अभियन्ताहरूले हिजो रम्फू र सिङताम बजारको भ्रमण गरे। भ्रमणको क्रममा विशेष गरेर यी दुईवटा बजारमा भइरहेको सुन्दरीकरण अन्तर्गत विभिन्न पूर्वधारको पनि जायजा लिए। यस अवसरमा रम्फूमा निर्माधीन अवस्थामा रहेको सामग्री पुनप्राप्ति सुविधा (एमआरएफ)को निरीक्षण गरे। उक्त पूर्वधारको निर्माण कार्य स्वच्छ भारत मिशन अन्तर्गत निर्माण गरिएको हो। निरीक्षणका क्रममा सचिवले सम्वन्धित निकायसँग अन्तरक्रिया गर्दै सरकारको निर्देशनअनुसार जनतालाई अधिकतम लाभ पुऱ्याउने कामलाई तीव्रता दिनुपर्ने निर्देशन दिए। विभागले छिट्टै (मनसुनपछि) मौसमी फूलसहितका सबै प्रमुख शहरहरूमा सुन्दरीकरणको काम शुरू गर्ने अवगत गराए। यसबाहेक, विभागले ल्याण्डफिलमा बोझ कम गर्न सबै स्थानीय निकायहरूमा फोहोर मैला व्यवस्थापन नियमहरू अन्तर्गत आवश्यक पर्ने एमआरएफहरू पनि निर्माण गरिरहेको बताए। रम्फू नगर पञ्चायतद्वारा निर्माणाधीन यस्तै एउटा एमआरएफको सचिव र टोलीले निरीक्षण गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न आग्रह गरे। टोलीले रम्फू बजारको पनि निरीक्षण गर्दै विभिन्न आयोजनाको प्रगतिबारे जानकारी लिएको बताइएको छ।