काठमाडौं: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी हुँदैछ। छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ। फिल्मका लागि असअघि नै दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका छन्। अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन्। अब यो फिल्ममा मोडल समिम खान भित्रिएका छन्। समिमको यो डेब्यू फिल्म हुनेछ। समिम ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता हुन्। दीपिका र दिवाकरले यस अघि फिल्म ‘ऐश्वर्य’मा सहकार्य गरिसकेका छन्। फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ। क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म १९ सेप्तेबरबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए। दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन्।