पत्रकार कवि प्रवीण खालिङको “चिया गफ” आउँदै

00-1-cg_403

गान्तोक: सिक्किमबाट कविता, कथा, अनुवाद र निबन्ध लेखनमा अभ्यासरत प्रवीण खालिङको दोस्रो कृति “चिया गफ”-को रूपमा चाँडै बजारमा आउने भएको छ। पत्रकारितामा लामो समयदेखि अभ्यास गरिरहेका खालिङले सिक्किमको राजधानी गान्तोकमा बसेर धेरैवटा पत्र-पत्रिका र नेपाल दार्जीलिङका अनलाइन पत्रिकामा गफहरू प्रकाशित गर्दै आएका छन्। जो मान्छेको जीवनका उकाली ओरालीमा भेटिने कुराहरूलाई कवितात्मक शैलीमा लेखिएका निबन्धजस्तो लाग्ने तर गफकै रूपमा लेखिएको विभिन्न विषयलाई समेटिएका लेखहरूको संग्रह हो। उनी भन्छन्, ‘चिया गफ जहाँ सिक्किम छ, दार्जीलिङ छ, कालेबुङ छ। पूर्वोत्तर भारतमा बस्ने नेपालीहरूको समस्या र कष्टहरू छ। नेपाल छ र छ विभिन्न साहित्यकारहरूले लेखेका कुराहरूको टिप्पणी र चर्चाहरूमार्फत उनीहरूलाई गफमा हुलिएको छl’

साधरण रूपमा कुनै किताबका मृत पात्रालाई गफमा प्रेमिल बनाएर जिउँदो पारेर सिरिजमा लेखिएका गफहरू पनि छुट्टै विशेषताको साथमा रहेका छन्। यसैगरि विश्व साहित्यले चिनेको माया एन्जोलोर गोर्खाली लिजेण्ड नेता सुवास घिसिङको मृत्युमाथि शोक लेखको रूपमा छुट्टै प्रकारले लेखिएको गफ रोचक लाग्छ। सिक्किम भारतमा विलय हुँदाको क्षणको ऐतिहासिक प्रसंग र इतिहासको पानामा कतै ओझेल पात्र बसन्त छेत्रीलाई भेट्न सकिन्छ। दार्जीलिङको खोजी र लिजेण्ड ल्याण्डोभर पात्रले बोकेको अस्तित्वको लड़ाईको व्यथा। नेपालको साहित्यक सम्झना र राजनैतिक वस्तुस्थितिका गनथनहरू छुट्टै लाग्छ। गोर्खाहरूको समस्या, विचारको अभाव, नेपालीहरूको राजनैतिक बुद्धिमाथिको प्रहार, कतै चम्चागिरीको हदै मासेर राजनीतिज्ञहरूलाई देवत्वकरण गर्ने परम्पराहरूमाथि कठोर व्यङ्ग प्रहार छ। नेपालीहरू जहाँ रहे पनि उनीहरूको भोगाइ पिड़ा, उहापोह उस्तै छ। त्यसलाई गफ गर्ने पाराले भनिदिनु र गफ नै पनि लेख्नु पर्ने विषय हो भन्ने स्थापित गर्ने प्रयासको रूप मान्न सक्छौं।

त्यसैगरि समाजमा रहेका कतिपय परम्परा र व्यवस्थामाथि प्रहार छ। यसैगरि देशले नेपालीभाषीलाई हेर्ने दृष्टिकोण अनि देशभक्तिको मूल्याङ्कनलाई प्रश्नको घेरोमा राखिएको छ। समग्रमा नेपालीभाषीको भारतमा अस्तित्व चिनारी समाज राजनैतिक चेतलाई सेरोफेरोमा राखेर लेखिएका विभिन्न पाठहरूको सङ्कलन हो “चिया गफ”। प्रवीण खालिङको यसअघि झरी प्रेमका कविताहरूको सङ्कलन प्रकाशित छ। भारतबाट थालिएको समावेशी साहित्य लेखनको एक संस्थापक अभियन्ता खालिङ पेशाले पत्रकार हुन् भने फोटोग्राफी, भिडियोग्राफी, डकुमेन्ट्री बनाउने अनि देशाटनमा धेरै चासो राख्ने युवा हुन्। त्यसैले उनको चिया गफमा यात्रा विवरणजस्तो कुराहरू पनि भेटिन्छ।  सिक्किमको मेन्युस्क्रिप्ट पब्लिकेशनले बजारमा उतार्ने छ भने अहिले गान्तोकको चर्चित पुस्तक पसल र प्रकाशन गृह रचना बुक्स अनि सिलगढ़ीका हाम्रो किताब घरबाट “चिया गफ”-को अनलाइन अग्रिम बुकिङ शुरू भइसकेको छ। सेप्टेम्बर महिनाको अन्तसम्म पाठकहरूको हातमा पुग्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement