११ सेप्टेम्बरः भारतले एशिया कपको सुपर फोर राउण्डको म्याचमा पाकिस्तानलाई २२८ रनको रेकर्ड अन्तरले पराजित गऱ्यो। कोलम्बोको प्रेमदासा स्टेडियममा सोमवार भारतले दिएको ३५७ रनको लक्ष्यलाई पीछा गर्दै पाकिस्तानको टीम ३२ ओभरमा १२८ रन बनाएर अलआउट भयो। पाकिस्तानको तर्फबाट फखर जमानले सर्वाधिक २७ रन बनाए। यसबाहेक अघा सलमान र इफ्तिखार अहमदले २३-२३ रनको योगदान दिए। कप्तान बाबर आजम केवल १० रन बनाएर आउट भए। पाकिस्तानको तर्फबाट नसीम शाह र हारिस रऊफ चोटले गर्दा ब्याटिंग गर्न ओर्लिएनन्। भारतीय बलरहरूमा चाइनाम्यान कुलदीप यादवले ८ ओभरमा २५ रन खर्च गरी सर्वाधिक ५ विकेट लिए। यसबाहेक जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १-१ विकेट लिए। यसअघि आइतवारको स्कोर २ विकेटमा १४७ रनदेखि अघि खेल्दै भारतले आज ५० ओभरमा ३५६ रनको विशाल स्कोर बनायो। भारतले आज कुनै विकेट गुमाएन। विराट कोहलीले ९ वटा चौका र ३ वटा छक्काको साथ ९४ बलमा अविजित १२२ रन बनाए। यसरी केएल राहुलले १३ वटा चौका र २ वटा छक्काको साथ १०६ बलमा अविजित १११ रन बनाए। यी दुईले तेस्रो विकेटको निम्ति १९४ बलमा २३३ रनको अटूट पार्टनरशीप गरी भारतलाई विशाल स्कोरसम्म पुऱ्याए। भारतले अब मंगलवार श्रीलंकाको चुनौती स्वीकार्नेछ।










