शब्द समय सालबारीद्वारा मूर्धन्य साहित्यकार नरबहादुर दाहालको निधनमा शोकसभा

IMG-20230911-WA0323.jpg

खरसाङ: नेपाली साहित्यका धरोहर अनि शब्द समय सालबारीका भिभावक व्यक्तित्व साथै मूर्धन्य साहित्यकार नरबहादुर दाहालको निधनले सर्वत्र भारी शोकको लहर छाएको छ। केही समय अघिदेखि उनी रोगसित जुझिरहेका थिए अनि शुक्रबार ८ तारीख सितम्बर साँझ ६ बजे उनले आफ्नो माहिला सुपुत्रको वासगृह बाघडुग्रा नगीच किरणचन्द चियाबारीमा अन्तिम श्वास फेरे। सोही दिन साँझ उनको पार्थिव शरीर सुकना उनको वासगृहमा ल्याइयो अनि भोलिपल्ट ९ तारीख शनिबार सुकना घाटमा दाह संस्कार गरियो। शब्द समय सालबारीका सदस्यहरूले उनलाई भारी हृदयले विदा दिए। सोही दिन साँझमा एक शोकसभा डाकेर शब्द समय सालबारीले आफ्ना अभिवभावक दिवङ्गत महान साहित्यकार नरबहादुर दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्यो। प्रथममा प्रख्यात नाटककार एवं चलचित्र अभिनेता टंक शर्मा अनि वरिष्ठ साहित्यकार भविलाल लामिछानेद्वारा दाहाल महोदयको तस्वीरअघि घूपदीप प्रज्वलित गरिएपछि उनीहरूसितै उपस्थित सदस्यहरूले श्रद्धा अर्पण गरे। यस अवसरमा वरिष्ठ नाटककार एवं चलचित्र अभिनेता टंक शर्माले आफ्ना उदगार राखे। उनले भने, दाहाल महोदयको यसरी शोकसभा गर्नुपर्छ भन्ने कुरो सपनामा पनि सोचेको थिइनँ। उनले दाहाल महोदयसितका सम्बन्ध र संस्मरणहरू साझा गरे। उनले भने, दाहाल महोदय यति चाँडै हामीबाट बिछोड़ नहुनुपर्थ्यो, उनीबाट हामीले अझ धेरै मार्गदर्शन र उपलब्धिहरू पाउने आशा राखेका थियौं। वरिष्ठ कवि-कथाकार भविलाल लामिछानेले भने सालबारीलाई त्यसै कवितीर्थ भनिएको होइन। यहाँ नरबहादुर दाहालजस्ता कवि रहेकाले नै यसो भनिएको हो। उनले भने, दाहाल महोदयको निधनपछि अब हामीले केके कामहरू गर्नुपर्ने हो त्यतातिर चिन्ता र कार्य गर्नुपर्ने आवश्यक्ता छ। यस अवसरमा कवि नरबहादुर दाहालका कृतिहरू वाचन गरेर पनि उनलाई श्रद्धा जनाइने कार्य गरियो जसमा वरिष्ठ कवि मोहन ठकुरीले उनका तीन प्रेम कविताहरू पठन गरेर सुनाए भने युग्मककार कालूसिंह रनपहेंलीले उनको प्रसिद्ध कविका ‘पतझड़’ पठन गरे। वरिष्ठ कवि-समालोचक प्रा. डा. सञ्जय वान्तवाले साहित्यकार नरबहादुर दाहालका योगदानहरूमाथि चर्चा गर्दै उनको निधनपछि हामीले गर्नुपर्ने विशेष कार्यहरूको महत्त्वपूर्ण सल्लाहहरू राखे। यसरी नै दाहाल महोदयप्रति आफ्ना सम्झना र संस्मरणहरू राख्दै आफ्ना रचना पनि पठन गर्ने सर्जकहरूमा कथाकार जीतबहादुर सुनार, कवि निर्मल सिन्चुरी, सर्जक पूर्ण मंगर, कवि हेमन्त काफ्ले, कवि राजा पुनियानी, कवि सूरज रोसुरी आदि थिए।

कथाकार-अनुवादक जीतबहादुर सुनारले दाहाल महोदयको कथा सङ्ग्रह ‘वरपीपल’-को दोस्रो संस्करण आफूद्वारा प्रकाशित गरिदिने घोषणा गर्नुहुँदा सबैले ताली बजाएर उनलाई स्वागत जनाए अनि धन्यवाद दिए। यो घोषणापछि लगत्तै गजलगो-सम्पादक शैलेन्द्र समदर्शीले यस कृतिको डिटीपी गरिदिने कार्यको जिम्मा आफ्नो काँधमा लिने वचन दिए। उनलाई पनि सबैले धन्यवाद दिए। आफ्ना मन्तव्य राख्ने क्रममा सदस्यहरूले दाहाल महोदयका कृति कर्महरूको उल्लेख गरिरहेका थिए अनि उनका अघूरा कार्यहरूलाई पूरा गर्न कसरी हामी सहायता गर्न सक्छौं आदिबारे पनि चर्चा गर्दै सुझाउ सल्लाहहरू राखिरहेका थिए। अन्तमा शब्द समयका मूल खाँबो वरिष्ठ संस्थापक सदस्य कवि-कथाकार-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले दाहाल महोदयको निधन शब्द समयको निम्ति ठूलो बज्रपात हो भन्दै दाहाल महोदयको आदर्शलाई आत्मसात गरेर शब्द समयले आगामी पाइलाहरू अघि सार्दै लैजानुपर्ने आवश्यक रहेको कुरा राखे। उनले भने, हामीले व्यवहारिक भएर हाम्रा कामहरू गर्दै जानुपर्ने आवश्यक्ता छ।

उनले आजको कार्यक्रम आयोजनाको निम्ति सक्रीय भएर काम गर्ने शब्द समयका कर्मठ सदस्य शैलेन्द्र समदर्शीसितै गोम्देन टी-बारका स्वामी अनन्त गोम्देन अनि उपस्थित सहभागी सबै सबैलाई धन्यवाद ज्ञापन गरे। सम्पूर्ण कार्यक्रमलाई ओन लाइन पत्रिका ‘दार्जीलिङ टक्स’-का सम्पादक शैलेन्द्र समदर्शीले ढङ्गमा सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement