सिलगढी: बलात्कारका सबै मामलाहरूको सुनुवाइ गर्न फास्ट ट्र्याक कोर्ट बनाएर पीडितहरूलाई जतिसक्दो चाँडो न्याय उपलब्ध गराउनुपर्छ भन्ने माग सांसद राजु बिष्टले गरेका छन्। उनले विष्टले पछिल्लो एक महिनामा सिलगढी र छेउछाउका क्षेत्रमा भएका बलात्कारका घटनालाई मध्यनजर गर्दै यो माग उठाएका हुन्। सोमबार सांसद राजु बिष्टले बागडोग्रा थाना क्षेत्रका सामूहिक बलात्कारको शिकार बनेकी पीडितको परिवारलाई भेट गरे। जसलाई केही दिनअघि ६ जना युवाहरूले मादक पदार्थ खुवाएर बलात्कार गरेका थिए। यो घटना बागडोग्रा पुलिस चौकीअन्तर्गतको क्षेत्रमा भएको थियो। घटनाको करिब १५ दिनअघि औपचारिक उजुरी दिए पनि पुलिसले मुख्य अभियुक्तलाई पक्राउ गर्न नसकेको सांसदले आरोप लगाएका छन्। सांसद बिष्टले भने, ‘पछिल्लो एक महिनामा सिलगढीमा यस्ता कतिपय धेरै जघन्य बलात्कारका घटना भएका छन्l’ पश्चिम बंगालमा कानून व्यवस्था बिग्रिएको उनले आरोप लगाए। विशेष गरी सिलगढी, दार्जीलिङ, तराई र कालेबुङ क्षेत्रका महिलाहरूमा असुरक्षाको भावना बढ्दै गएको उनको भनाइ छ। सांसद बिष्टले यस क्षेत्रका सबै बलात्कारका मामलाको सुनुवाइका लागि फास्ट ट्रयाक अदालत गठन गर्ने माग गर्दै पुलिसलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न आग्रह गरेका छन्।