कोलकाता: कांग्रेस नेतृत्वधीन विपक्षी गठबन्धन आईएनडीआईएको समन्वय समितिको बैठक बुधबार प्रस्तावित छ। मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जी पनि यसका एक महत्वपूर्ण सदस्य हुन्। तर, शिक्षक नियुक्ति भ्रष्टाचारको मामिलामा जाँच गरिरहेको केन्द्रीय प्रवर्तन निदेशालय (ईडी) ले सोही दिन उनलाई नोटिस पठाएको छ। यसलाई लिएर अभिषेक ब्यानर्जीले केन्द्रमाथि प्रश्न उठाएका छन्। आइतबार अबेर राति अभिषेकले एक्समा लेखेका छन्, ‘आईएनडीआईए समन्वय कमिटीको बैठक आगामी १३ सेप्टेम्बरमा दिल्लीमा हुनेछ। त्यसमा म पनि एक सदस्य हूँ, तर ईडीले सोही दिन मलाई सोधपुछमा सामेल हुन नोटिस पठाएको छ। ५६ इञ्चको छातीको डर देखेर अचम्भित छु।’ उल्लेखनीय छ, शिक्षक नियुक्ति भ्रष्टाचारको मामिलामा पक्रा परेका कालीघाट काकू अर्थात सुजय कृष्ण भद्र जुन कम्पनीको निम्ति काम गर्थे, त्यसका निदेशक अभिषेक ब्यानर्जी हुन्। यसमा ब्यानर्जीको भूमिकाको जाँच केन्द्रीय एजेन्सीहरूले गरिरहेको छ। -हिस