११ सेप्टेम्बरः सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले लगभग पौने दुई घण्टासम्म चलेको फाइनलमा रुसका दानिल मेदवेदेवलाई पराजित गरी यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। यो उनको २४औं ग्राण्ड स्ल्याम खिताब हो। यसरी उनले टेनिस खेलको ओपन युगमा सर्वाधिक ग्राण्ड स्ल्याम एकल खिताब जित्ने अष्ट्रेलियाई महिला खेलाड़ी मार्गरेट कोर्टको रेकर्डको बराबरी गरे। मार्गरेट कोर्टले पनि आफ्नो करियरमा २४ वटा ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन्। आइतवार राति अर्थर ऐश स्टेडियममा खेलिएको म्याचमा दोस्रो वरीयता प्राप्त जोकोविचले मेदवेदेवलाई ६-३, ७-६ (५), ६-३-ले पराजित गरे। दर्शकहरूले यस खेलको भरपूर मजा लिए। म्याच जितेपछि जोकोविच कोर्टमा बसे अनि दर्शकहरूका अभिवादन स्वीकार गरे। दुई साल अघि फ्लशिंग मिडोजको फाइनलमा मेदवेदेव विरुद्ध पराजित भएर करियर ग्राण्ड स्ल्याम पूरा गर्नदेखि चुक्ने जोकोविचले यसपाली चाहिँ रुसका खेलाड़ी विरुद्ध अधिक गल्ती गरेनन्।
ट्रफी जितेपछि जोकोविचले भने, यस खेलमा इतिहास रच्नु साँच्चै अद्भूत र खास हो। यस खुशीलाई शब्दहरूमा बयान गर्न सकिँदैन। म ७ या ८ सालको हुँदा मेरो एउटा सपना थियो। म विश्वको सबैभन्दा असल खेलाड़ी बन्न चाहन्थे अनि विम्बल्डनमा खिताब जित्न चाहन्थे। यसरी यहाँ उभिएर २४औं ग्राण्ड स्ल्याम खिताबबारे कुरा गर्नेछु भन्ने त कहिले सोचेको थिइनँ। जोकोविचले सेमिफाइनलमा अमेरिकी खेलाड़ी बेन शेल्टनलाई पराजित गरी फाइनलमा स्थान बनाएका थिए। जोकोविचले यसअघि अन्तिमपल्ट २०१८-मा यूएस ओपनको खिताब जितेका थिए। सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्यामपछि जोकोविच फेरि विश्वका नम्बर एक खेलाड़ी बन्नेछन्। उनी तेस्रोपल्ट एउटा सालमा चारैवटा ग्राण्ड स्ल्यामको फाइनलमा पुगे।

मेदवेदेव विरुद्ध फाइनलको दोस्रो सेटमा चाहिँ जोकोविचले सामान्य कठिनाईको सामना गर्नु पऱ्यो तर उनले अनुभवलाई काममा लगाएर आफ्नो चौथो यूएस ओपन खिताब जिते। जोकोविचले यस सालको शुरुवातमा रफायल नडालको सर्वाधिक २२ वटा ग्राण्ड स्ल्याम जित्ने रेकर्डलाई तोड़ेका थिए। उनले जुलाईमा भएको विम्बल्डनमा चाहिँ फाइनलमा कार्लोस अल्काराज विरुद्ध हारको सामना गर्नु परेको थियो। यस साल उनले चारैवटा ग्राण्ड स्ल्यामको फाइनलमा स्थान बनाएर तीनवटा खिताब जिते। जोकोविच अहिलेसम्म ३६ पल्ट ग्राण्ड स्ल्यामको फाइनलमा पुगेर २४ पल्ट च्याम्पियन रहेका छन्। उनले १० पल्ट अष्ट्रेलियन ओपन, सातपल्ट विम्बल्डन, चारपल्ट यूएस ओपन अनि तीनपल्ट फ्रेञ्च ओपनको खिताब जितेका छन्। ओपन युगमा ३६ वर्षीय जोकोविच ग्राण्ड स्ल्याम खिताब जित्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी पनि बने।