गान्तोक: पछिल्ला केही समययता कला, साहित्य, खेलकुद, मनोरञ्जन आदि क्षेत्रमा सिक्किमका युवाहरूले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरसम्मै सफलता प्राप्त गरिरहेका छन्।
यसै क्रममा सिक्किमकी छोरी पेमा छोडेन भोटियाले फेरि एकपल्ट सिक्किम र सिक्किमवासीलाई गौरवान्वित तुल्याएकी छन्।
पूर्व सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सिविक लिङ्दोक निवासी २२ वर्षीया पेमा छोडेन भोटिया गत २६ अगस्तको दिन नयाँ दिल्लीमा सम्पन्न मिस डिभाइन ब्यूटी २०२३ प्रतियोगिताअन्तर्गत मिस इन्टरनेशनल इण्डिया २०२३ को उपविजेता बनेकी छन्। २०१९ मा मिस सिक्किमको उपाधि जितेकी पेमा छोडेन भोटियाले २०२१ मा मेगा मिल नर्थइस्टको उपाधि पनि जितिसकेकी थिइन्।
आज आइतवार घर फर्कने क्रममा पेमा छोडेनलाई गान्तोकमा नागरिक सम्मानको साथ भव्य स्वागत जनाइयो। गान्तोकदेखि केही माथि बाकथाङ फल्स परिसरमा उनलाई स्वागत जनाउन क्षेत्र विधायक तथा सिक्किम सरकारका वन मन्त्री कर्मा लोडे भोटियाको साथमा कावी लुम्चोक क्षेत्रका वासिन्दाहरूको सहभागी थिए जसमा वरिष्ट नागरिकहरूदेखि लिएर किशोर-किशोरी र बालक बालिका पनि सामेल थिए।
यसै अवसरमा स्थानीय सामाजिक सङ्गठन सिविक सामडुप छोपाद्वारा पेमा छोडेनलाई अभिनन्दन पनि जनाइयो। भव्य स्वागतले प्रफुलित बनेकी पेमा छोडन भोटियाले उपस्थित सबै प्रति आभार व्यक्त गरिन्। सबैलाई धन्यवाद दिने क्रममा उनले विशेष गरेर राज्य सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि धन्यवाद दिइन्। वर्तमान सरकार र मुख्यमन्त्रीले विभिन्न क्षेत्रमा युवा प्रतिभाहरूलाई प्रोत्सहान र सहयोग प्रदान गर्ने गरेकोमा व्यक्तिगत तर्फबाट आभार व्यक्त गर्दै सरकारबाट सबै युवाहरूले आगामी दिनमा पनि यसरी नै सहयोग पाउने उनले आशा व्यक्त गरेकी छन्।
यसरी नै स्वागत कार्यक्रममा छोटो सम्बोधन राख्दै मन्त्री कर्मा लोडे भोटियाले कावी लुङचोक क्षेत्र साथै सिक्किम राज्यकै शिर उच्च पारेकोमा पेमा छोडेन लेप्चालाई बधाई साथै धन्यवाद दिए। स्वागत कार्यक्रमपछि पेमा छोडेन भोटियालाई लिएर एउटा ऱ्याली पनि आयोजना गरिएको थियो जुन बाकथाङ फल्सबाट आरम्भ भएर भानु पथ, नामनाङ, देउराली, इन्दिरा बाइपास रोड हुँदै बोजोघारी फाटक पुगेर समाप्त भयो।