कथाकार युवा बराल ‘अनन्त’ साहित्यिक भ्रमणमा दक्षिण भारतको केरल जाँदै

photocollage_2023910222315148.jpg

गान्तोक: सिक्किमका एक चिर परिचित कथाकार युवा बराल ‘अनन्त’ लाई आगामी १२ देखि १४ सेप्टेम्बरसम्म केरलाको कालिकट शहरमा ‘भाषा समन्वय वेदी’ ले आयोजन गरिरहेको ‘हिन्दी भाषा पखवाड़ा एवं भाषा सेवी सम्मान अलङ्करण समारोह २०२३’ को वृहत कार्यक्रममा मुख्य अतिथिको रुपमा निम्त्याएको छ।

सो कार्यक्रममा सहभागी बन्न कथाकार युवा बराल ‘अनन्त’ ११ सेप्टेम्बरका दिन केरलाको निम्ति प्रस्थान गर्दैछन्।

बिरिङ्ग, पाकिममा जन्मेका कथाकार युवा बरालका हालसम्ममा एउटा कविता सङ्ग्रह र तीनवटा कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् भने उनको पहिलो कथा सङ्ग्रह ‘जिउनी’ ले २०१२ को डा. शोभा कान्ति थेगिम लेप्चा स्मृति पुरस्कार जित्न सफल भएको छ। उनको पछिल्लो कथा सङ्ग्रह ‘छिचिमिरा’ ले लालमान सञ्चरानी स्मृति पुरस्कार २०२१ र तुलसी कश्यप स्मृति पुरस्कार २०२२ प्राप्त गर्न सफल भएको छ।

यसका अतिरिक्त कथाकार युवा बराल ‘अनन्त’ लाई विभिन्न सङ्घ तथा संस्थाहरूले उनको साहित्यिक एवं साहित्यिक योगदानलाई मुल्याङ्कन गर्दै समय-समयमा सम्मान तथा अभिनन्दनद्वारा अभ्यर्थना पनि जनाइसकेको छ।

कथाकारका दुईवटा कथाहरू ‘मलायलम’ भाषामा अनुवाद भएपछि ती कथाहरू कै माध्यमबाट त्यहाँका विद्वान साहित्यकार र पाठकहरूको विशेष आग्रहमा भाषा समन्वय वेदीले उहाँलाई उक्त कार्यक्रममा सहभागी बन्न निम्तो गरेको हो। उक्त कार्यक्रममा उहाँले ‘नेपाली साहित्य एवं भारतीय साहित्यको विकासमा अनुवादको भुमिका’ विषयमा आफ्नो वार्ता राख्नुपर्नेछ।

कार्यक्रमको रुपरेखा अनुसार, १२ सेप्टेम्बरमा कालिकट विश्वविद्यालयको रेडियो कार्यक्रममा आफ्नो अन्तर्वाता दिए पश्चात् दिउँसो विश्वविद्यालयका शोधार्थीहरूसँग ‘गान्धी चेयर’ नामक बातचित कार्यक्रममा भाग लिनेछन्। १३ सेप्टेम्बरको दिन कालिकट कै गुरुवायुरप्पन कालेजमा आयोजित एउटा कार्यक्रममा सहभागी बन्दै आफ्नो आतिथ्य सम्भाषण राख्नेछन्।

१४ सेप्टेम्बर ग्लोबल पीस ट्रस्टका पदाधिकारीहरूसँग अधिकारिक भेटघाट र बातचीत पश्चात भाषा समन्वय वेदीको मुख्य कार्यक्रम हिन्दी सेवा सम्मान समारोहमा मुख्य अतिथिको रुपमा आफ्नो उपस्थिति दिँदै आफ्नो सम्भाषण राख्नेछन्। यसरी नै १५ सेप्टेम्बरको दिन कालिकट शहर कै कालिकट सरकारी आर्ट्स एण्ड साइन्स कालेजमा विद्यार्थीसँगको भेटघाट कार्यक्रममा आफ्नो वक्तव्य राखेपछि दिउँसोको समयमा मातृभूमि साहित्यिक पत्रिकाले आयोजना गरेको लेखकसँग भेटघाट कार्यक्रममा सहभागी बन्नेछन्। १६ सेप्टेम्बरको दिन उनी सिक्किम फर्किनेछन्।

कथाकार युवा बराल ‘अनन्त’ बियाड युवा साहित्यिक संस्थान बिरिङ्ग पाकिमका प्रमुख संयोजकका साथै नेपाली साहित्य परिषद् गान्तोक सिक्किमका कार्यकारिणी समितिका मनोनित सदस्य लगायत विभिन्न सङ्घ संस्थाहरूसँग आवद्ध रहेर साहित्य र समाज सेवामा दत्तचित्तले लागिपरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *