१० सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा कारबाल्ला फ्रेण्डशीप स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल मैदानमा आइतवार खेलिएको म्याचमा कारबाल्ला एफएससी-ले प्रगति क्लब, बीरपाड़ालाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लक्ष्मणले २५औं र ४७औं मिनटमा २ गोल गरे। यसबाहेक जाइलोले २३औं, अशोकले ७१औं र कुणाल मंगरले ८२औं मिनटमा गोल गरे। यसरी प्रगति क्लबबाट आर्यन थापाले ७०औं मिनटमा गोल गरे। विजेता टीमका खेलाड़ी कुणाल मंगरलाई हीरो अव् द म्याच चयन गरियो, जसले एक गोल गर्नको साथै तीनवटा एसिस्ट पनि गरे। अब १२ सेप्टेम्बरमा खेलिने म्याचमा बीबीएस इलेभेन काटालगुड़ी र लंकापाड़ा शान्ति क्लबबीच भिड़न्त हुनेछ।

यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










